प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुगेको छ’–मन्त्री मोक्तान
रामेछाप । प्रदेश ‘शिक्षा नीति’ अन्तिम चरणमा पुगेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताएकी छन् । विद्यालय र क्याम्पसमा विद्यार्थीहरूको सङ्ख्या क्रमशः घट्दै गएको प्रसंग उल्लेख गर्दै विद्यार्थीलाई गुणस्तरीय र उनीहरूको रुचि अनुसारको शिक्षा दिएर टिकाउनु पर्नेमा जोड् दिइन् ।
शिक्षा नीतिमा प्रदेश र स्थानीय सरकार मिलेर व्यावहारिक शिक्षालाई जोड् दिने गरी बनाएको प्रष्ट पार्दै प्रदेशले आफ्नै विश्व विद्यालय समेत स्थापना गर्न लागेको बताइन् । मन्त्री मोक्तानले आगामी आर्थिक वर्षबाट प्रदेशका ४० वटा क्याम्पसलाई १० लाखको दरले अनुदान दिने तयारी भइरहेको बताइन् ।
शनिवार मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीको तेस्रो क्याम्पस सभालाई सम्बोधन गर्दै उनले नर्स, डाक्टर पढ्नको लागि सिन्डिकेटकै कारण पढ्न नपाएको उल्लेख गर्दै प्रदेश सरकारको पहलमा अब त्यो अवस्था अन्त्य हुने बताइन् । मन्त्री मोक्तानले प्रदेशका क्याम्पसहरूको शैक्षिक सुधारको लागि छात्रवृत्ति, स्टाफ नर्सको व्यवस्था, शून्य दरबन्दी भएको ठाउँमा दरबन्दी, भौतिक पूर्वाधार निर्माण गर्दै आएको छ ।
शैक्षिक सुधारको लागि ‘संघीय शिक्षा ऐन’ संशोधन नहुँदा सम्म केही नगर्न नसकिने सभामा बोल्दै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले गुनासो पोखेका छन् । उनले भने – स्थानीय तहले चाहेर मात्रै शैक्षिक सुधार सम्भव छैन । जबसम्म संघीय शिक्षा ऐन सुधार हुँदैन तबसम्म प्रदेश र स्थानीय सरकारले केही गर्नै सक्दैन ।
क्याम्पसको संचालक समितिका लागि २ जना अध्यक्ष तथा १० जना सदस्यको उम्मेदवारी परेको छ । आज बिहान १० बजे सम्म सहमति नभए निर्वाचनमा जाने निर्वाचन संयोजक रिता दहालले जानकारी दिइन् ।