अदीति कपको पुरस्कार वितरण

रामेछाप । जिल्लाको मन्थली माविमा संचालित १२ औँ अदिति कप प्रतियोगिताका विजेताहरूलाई शुक्रवार पुरस्कार वितरण गरिएको छ । प्रतियोगितामा विजयी हुने खेलाडीलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले पुरस्कार मेडल, ट्रफि र छात्रवृत्ति प्रदान गरे। कार्यक्रमलाई संबोधन गर्दै श्रेष्ठले भने– खेलको माध्यमबाट समाजका युवालाई अनुशासित र नैतिकवान बनाउनु सकिन्छ । शारीरिक विकासका लागि योगदान पुग्छ । तसर्थ हरेक वर्ष प्रतियोगिताका लागि सहयोग गर्ने दाताहरू प्रशंसा योग्य हुनुहुन्छ ।
खेलकुदको विकासका लागि घिमिरे दम्पतीले गरेको योगदानको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले खुलेर चर्चा गरिन्।
गल्फ खेलाडी तथा स्थानीय समाजसेवी सौहृद घिमिरे र उनकी धर्मपत्नी रेखा घिमिरेले १२ वर्ष अघि आफ्नी छोरी अदिति घिमिरेका नाममा स्थापना गरेको अदिति कप प्रतियोगिता अन्तर्गत मन्थली माविले हरेक वर्ष आफ्ना विद्यार्थिहरुका बिच विभिन्न विधाका खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराउँदै आएको छ ।
प्रतियोगिताका सम्पूर्ण खेलहरू केही समय अघीनै सम्पन्न भएकाले शुक्रवार भने पुरस्कार वितरणको कार्यक्रम मात्र राखिएको विद्यालयका प्रअ टंकप्रसाद दाहालले बताए। उनले प्रतियोगिताका लागि करिब ७ लाख खर्च लागेको बताए। अदिति कप प्रतियोगिताका कारण बारम्बार खेल र अभ्यासमा बालबालिका लगाउन पाएकाले सो विद्यालयले हरेक वर्ष राष्ट्रपति रनिङशिल्डमा कव्जा जमाउँदै आएको छ ।
कार्यक्रम सँगै विद्यालयले ४ जना जेहनदार छात्र छात्राका लागि छात्रवृत्ति समेत प्रदान गरेको छ । उक्त छात्रवृत्ति पनि सौहृद र रेखा घिमिरेलेनै प्रदान गरेका हुन् । छात्रवृत्ति कार्यक्रम अन्तर्गत उनीहरूले प्रत्येक वर्ष मावि तहका जेहनदार छात्र छात्रालाई एक वर्ष सम्म अध्ययन गर्दा लाग्ने सबै शैक्षिक सामाग्री समेत प्रदान गर्दे आएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे लगायतले घिमिरे परिवारको मन्थली मावि स्थापना देखि हाल सम्मका विभिन्न शैक्षिक र भौतिक गतिविधिमा सक्रिय सहभागिताका बारेमा आ आफ्ना धारणा राखे ।