एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै

रामेछाप । एक विद्यालय एक नर्स कार्यक्रम लागु भएपछि रामेछापका विद्यालयमा विद्यार्थीहरूको औषधी उपचारमा सहज भएको छ । जिल्लाका सबै विद्यालयले नर्स नराखे पनि नर्सको व्यवस्थापन गरेका विद्यालयका विद्यार्थीलाई भने यसले धेरै सजिलो भएको छ । विद्यालयमा नियमित नर्स आउन थालेपछि सामान्य चोटपटक लाग्दा बिचैमा कक्षा छाडेर जानुपर्ने अवस्था अन्त्य भएको छ ।
यति मात्र नभई महिनावारी र अन्य किशोरावस्थामा हुने शारीरिक परिवर्तन र जोखिमका बारेमा विद्यार्थीले राम्रोसँग बुझ्न पाएका छन् । मन्थली माविका छात्रा मनसुन लामाले नर्सले विद्यालयमा स्वास्थ्य र सरसफाइ सम्बन्धी जानकारी दिनुका साथै छात्रछात्राको प्राथमिक उपचार, यौनजन्य तथा शारीरिक हिंसाका साथै ‘गुड टच’, ‘व्याड टच’, आदि बारेमा पनि जानकारी दिने गरेका छन् ।
सुरुसुरुमा आफ्ना समस्या भन्न लजाउने गरे पनि विद्यार्थी अहिले आफ्ना समस्या खुलेर राख्न थालेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यालय नर्स सुस्मिता खड्काले बताइन । विद्यालय नर्सबाट छात्रछात्राले स्वास्थ्य सम्बन्धी आफ्ना धेरै खुल्दुलीको उत्तर पनि पाएका छन् । जसले गर्दा उनीहरूले शिक्षक र अभिभावकलाई भन्दा विद्यालय नर्सलाई बढी विश्वास गर्न थालेका छन् ।
यस्तो देख्दा आफूहरूले गरिरहेको काम प्रति गर्व महसुस हुने मन्थली माध्यमिक विद्यालयका नर्स मञ्जु अधिकारीले बताइन । विद्यालय नर्सले विद्यालयमा स्वास्थ्य, पोषण, सरसफाइलगायत विषयमा जानकारी र परामर्श दिन थालेपछि त्यसको प्रभाव चौतर्फी देखिन थालेको छ ।
गौरीशंकर माविका प्रधानाध्यापक रामप्रसाद पौडेलले विद्यालयमा नर्सको व्यवस्था भएपछि विद्यार्थीको पठनपाठन नियमित गर्नदेखि बालविवाह रोक्न समेत सहयोग पुगेको जानकारी दिए । रामेछापका केही सामुदायिक विद्यालयमा व्यवस्था गरिएको विद्यालय नर्सको सकारात्मक प्रभाव हेर्दा अन्य विद्यालयमा पनि नर्सको व्यवस्था तत्काल गर्नुपर्ने देखिएको शिक्षाविद्हरू बताउँछन् ।



