रामेछापबाट २ हजार ७ सय बढीले एसइई परीक्षा दिँदै
रामेछाप । बिहीबारबाट सुरु हुने एसइई परीक्षामा २ हजार ७ सय ९४ परीक्षार्थीले सहभागिता जनाउने छन् । जिल्ला भरी एसइई परीक्षाको तयारी समेत पूरा भएको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताए ।
गजुरेलका अनुसार यो वर्ष रामेछापमा दुई हजार छ सय ५९ जना नियमित र २५ जना ग्रेड वृद्धि परीक्षार्थी सहभागी हुँदै छन् । १ सय १० जना प्राविधिक धारका परीक्षार्थीले परीक्षा दिँदै छन् । यसमा पनि बाली विज्ञान तर्फ २१ जना, सिभिल इन्जिनियरिङ तर्फ २० जना, पशु चिकित्सा विज्ञान तर्फ ४१ जना र कम्प्युटर विषयमा ४३ जनाले परीक्षा दिने छन् । यो वर्ष गत वर्ष भन्दा १०० पूर्णाङ्क कम गरी ७०० पूर्णाङ्कको परीक्षा सञ्चालन हुँदै छ । परीक्षार्थीले २२ वटा परीक्षा केन्द्रबाट परीक्षा दिनेछन् ।
जिल्लाको मन्थली नगरपालिकामा ६ वटा परीक्षा केन्द्र तोकिएको छ । रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा २–२ वटा परीक्षा केन्द्र रहेका छन् । दोरम्बा शैलुङ र लिखु तामाकोशी गाउँपालिकामा ३–३ परीक्षा केन्द्र खडा गरिएको छ ।
सोमबार सम्म ९० प्रतिशत भन्दा बढी परीक्षा केन्द्रमा प्रश्न पत्र पुगेको समेत गजुरेलले बताए । केही वर्ष देखि ग्रेडिङ सिस्टममा नतिजा प्रकाशन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्षदेखि फेरी विद्यार्थीले कुनै पनि विषयमा लिखित ३५ प्रतिशत नतिजा ल्याउनु पर्नेछ ।