महोत्सवको खाना खर्च मात्रै १० लाख बढी
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघले गत पुष २६ देखि माघ ७ गते सम्म सञ्चालन गरेको ११ दिने बृहत् रामेछाप महोत्सव–२०८० मा खाना खर्च मात्रै १० लाख बढी भएको छ । संघले सार्वजनिक गरेको खर्च विवरण अनुसार खाना, खाजा तथा अतिथि सत्कारमा मात्रै १० लाख ३९ हजार २ सय ४९ रुपैयाँ खर्च भएको छ ।
संघले सार्वजनिक गरेको खर्च विवरण अनुसार उद्घाटन समारोह खाना खाजा खर्चमा १ लाख ५० हजार ४ सय रुपैयाँ, अतिथि सत्कार शीर्षकमा ७१ हजार ६ सय ६० रुपैयाँ, स्वयंसेवक खाना खाजा खर्चमा २ लाख १९ हजार ८ सय ९० रुपैयाँ, सुरक्षा व्यवस्थापन खर्चमा ४४ हजार ६ सय ९० रुपैयाँ, बैठक तथा विविध खर्चमा ३५ हजार ८ सय १० रुपैयाँ र होटेल खर्च खाना तथा खाजामा ५ लाख १६ हजार ७ सय ९९ रुपैयाँ खर्च गरेको छ ।
संघले ११ दिने महोत्सवको यी ६ शीर्षकलाई एक मुष्ठ हिसाब गर्दा १० लाख ३९ हजार २ सय ४९ रुपैयाँ हुन जान्छ । संघले सार्वजनिक गरेको खाना खाजा खर्चलाई एक खाना बराबर ३ सय रुपैयाँका दरले भाग लगाउने हो भने ३ हजार ४ सय ६४ वटा खाना सो पैसाले आउने देखिन्छ । त्यही ३ हजार ४ सय ६४ वटा खानालाई ११ दिनमा भाग लगाउँदा एक दिनमा ३ सय १४ खानाका लागी संघले खर्च गरेको देखिन्छ । के संघले एक दिनमा ३ सय १४ स्वयंसेवक तथा पदाधिकारीहरू खटाएको थियो त ? प्रश्न यहाँ निर खडा हुन्छ ।
संघका अध्यक्ष नविनकुमार थापा मगरले भने अनुसार यो खर्च पुराका पुरा खानामा नै भएको खर्च हो । उनले भने हामीले सबै बिल चुस्त दुरुस्त राखेर खर्च सार्वजनिक गरेका हौँ । अध्यक्ष थापामगरका अनुसार यो खाना, स्वयंसेवक, अतिथिहरू र कलाकारहरू लगायतले खाएका हुन् ।
संघका निवर्तमान अध्यक्ष एवं बृहत् रामेछाप सांस्कृतिक महोत्सव मूल समारोह समिति २०८० का संयोजक केशव प्रसाद घिमिरे पनि सार्वजनिक गरेको खर्च चुस्तदुरुस्त भएको बताउँछन् । उनी पनि त्यति पैसाको खाना खाएकै हो भन्ने पक्षमा छन् ।
संघका अध्यक्ष थापा मगर र संघका निवर्तमान अध्यक्ष एवं मूल समारोह समितिका संयोजक घिमिरेको हो मा हो मिलाउँछन् संघका कोषाध्यक्ष झनकबहादुर बुढाथोकी (उत्तम) पनि ।
यता संघमा महासचिव कुमार श्रेष्ठ भने आफूले संघको बैठकमा फरक मत राखेको बताउँछन् । आफूले संघको बैठकमा महोत्सवको खर्चमा प्रश्न उठाउँदा बिल पास गर्न नमान्दा राजीनामा समेत मागेको बताउँछन् उनी ।
जिल्लाको सुस्ताएको बजार लाई आर्थिक रूपबाट केही हद सम्म माथि उठाउन गरिएको महोत्सवको नाममा रामेछाप उद्योग वाणिज्य संघको यो मोजमस्तीले सिङ्गो जिल्लालाई बदनाम गरेको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे बताउँछन् ।
महोत्सव मार्फत जिल्लाको कला संस्कृति पहिचान भयो भएन, जिल्लाको सुस्ताएको बजार आर्थिक रूपबाट केही हद सम्म माथि उठ्यो उठेन थाहा भएन । तर रामेछाप उद्योग वाणिज्य संघले महोत्सव भरि ’भात’ भने दिल खोलेर खाएको देखियो ।