फर्पुमा दोस्रो वडाध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु

रामेछाप । गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा दोस्रो वडा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । फर्पुको खेल मैदानमा मङ्गलवारबाट सुरु भएको खेलको उद्घाटन गाउँपालिका प्रमुख काजी बहादुर खड्का (दिनेश) ले गरेका हुन् । आगामी दिनमा खेलकुद क्षेत्रको प्रोत्साहनका लागी क्रमिक रूपमा महत्वका साथ राखेर युवा पुस्ता तथा खेलाडीहरूका लागी विशेष कार्यक्रम बनाउने प्रतिबद्धता अध्यक्ष खड्काले गरे।
वडाध्यक्षले यस स्थानमा खेलको आयोजना गर्नु भएकोमा खुसी व्यक्त गर्दै युवाहरूमा खेलको महत्त्व बुझी दोस्रो फुटबल प्रतियोगिता आयोजना गरेकोले खेल सफल पार्न कार्यक्रमका विशेष अतिथि तथा गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उमा देवी कार्की अनुरोध गरिन् ।
उद्घाटन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव, जिल्ला फुटबल सङ्घका अध्यक्ष सुन्दर घिमिरे, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरू, सुरक्षाकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम गोकुलगंगा गाउँपालिका वडा नं. ६ का अध्यक्ष चन्द्र बहादुर सुनुवारको अध्यक्षतामा भएको थियो । वैशाख २५ गते देखि जेठ १ गते सम्म संचालन हुने खेलमा १२ टिमको सहभागिता रहेको छ ।