थाङ्का र गलैँचाको हब बन्दै सुनापती

रामेछाप । गाउँघरमा आफ्नो घरायसी काम सकेर फुर्सदको समयमा थाङ्का रङ्गाएर मासिक रु २० देखि २५ हजार कमाउँछन् पन्जा तामाङ । थाङ्का रङ्गाएर बुट्टा भरेर घरमै बसिबसि आम्दानी हुन थालेपछि सुनापती गाउँपालिकाको वडा नं–३ हिलेदेवीका तामाङ गाउँमै खुसी छन् ।
नेपालमा भ्रमण गर्न आएका विदेशीहरूले एक देखि डेढ लाख सम्म हालेर थाङ्का खरिद गरी लैजाने र आफूहरूले उत्पादन गरेको थाङ्का काठमाडौँको ठमेल लगायतका विभिन्न ठाउँहरूमा पठाउने गरिएको पनि तामाङ बताउँछन् ।
महिलाहरूले दैनिक घरायसी काम सकेर पनि गलैँचा बुनेर व्यावसायिक हुन पाएको बताउँछिन् स्थानीय लक्ष्मी तामाङ । उनी महिनामा दुई वटा सम्म गलैँचा तयार पार्छिन् । घरको कामकाज सकेर बुनेको गलैँचा गोटाको ११ हजारमा बिक्छ । उमेरले ६० पुगेकी लक्ष्मी गाउँमै रोजगारी पाएकोमा खुसी लागेको बताउँछिन् । सुनापति गाउँपालिका वडा नं. ३ की लक्ष्मी भन्छिन् – ’छोरा छोरी हुर्केर बाहिर गइहाले । घरमा बूढाबूढी मात्र छौँ । गलैँचा बुनेर आउने पैसाले घर खर्च टार्न निक्कै मद्दत पुगेको छ । त्यही भएर आँखा कमजोर हुँदा हुँदै पनि चस्मा लगाएर भएपनि गलैँचा बुनिरहेकी छु ।
कमान थिङले गलैँचा कारखाना खोलेर १५–१६ जना महिलाहरूलाई रोजगारी दिएका छन् । आफूलाई पनि उद्योग सञ्चालन बाट मासिक २५–३० हजार आम्दानी हुने गरेको थिङ बताउँछन् । घरेलु तथा साना उद्योग कार्यालय रामेछाप र सुनापति गाउँपालिकाले संयुक्त रूपमा महिलाहरूलाई दिएको गलैँचा बनाउने तालिम पश्चात् अधिकांश महिलाहरू यसमा दक्ष भएर कामका लागि अनुरोध गर्ने गरेको थिङ बताउँछन् । पर्याप्त कच्चा पदार्थ र पूर्वाधार नहुँदा महिलाहरूलाई खोजे जति काम दिन नसकेको गुनासो पोख्छन् उनी ।
सुनापति गाउँपालिकाले आफ्नो पालिकालाई थाङ्का र गलैँचाको हब बनाउने निर्णय गरे पश्चात् थाङ्का र गलैँचाको काम तीव्र रूपमा चलेको छ । ५ वटा मात्र वडा रहेको यस पालिका रामेछाप जिल्लाको पश्चिमी क्षेत्रमा छ । पालिकाको वडा नं ३ हिलेदेबी र ४ बेथानमा प्राय सबैको घर–घरमा थाङ्का बनाउने र विभिन्न स्थानमा गलैँचा बनाउने गरिएको छ ।
सो पालिकामा थाङ्काका विशेषज्ञहरू धेरै भएकोले उनीहरू मार्फत नागरिकलाई तालिम दिएर रोजगारी सृजना गर्दै रोजगारीका लागि बाहिर जानु नपर्ने वातावरण बनाउन पालिकाले बजेट नै विनियोजन गरेर थाङ्का र गलैँचाको हब बनाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले बताए । उनले भने – अबको १–२ वर्षमा यहाँका मानिसहरूको जीवन स्तर सुधार भएको देख्न पाइन्छ । वैदेशिक रोजगारीको मोह बढ्दै गइरहेको अवस्थामा पालिकामै गुणस्तरीय विद्यालय निर्माण गरी बालबालिकाहरूलाई स्थानीय विद्यालयमा पढाउने र अभिभावकहरूले थाङ्का र गलैँचा निर्माणको काम गर्ने गर्दा गाउँमै रोजगारीको अवसर सृजना हुने भएकोले पनि थाङ्का र गलैँचाको हब घोषणा गरी काम सुरु गरिएको हो ।
विगतका वर्षहरू देखि नै सुनापति गाउँपालिकामा गलैँचा र थाङ्का निर्माण हुने गरेको भए पनि यस वर्ष देखि भने नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँको समन्वयमा पालिकाको लघु उद्यम अन्तर्गत मेड्पा कार्यक्रमबाट थाङ्का र गलैँचा ब्यवसायीहरुलाई तालिम दिएर घरघरमा थाङ्का र गलैँचा बनाउन सुरु गरेको गाउँपालिकाका रोजगार संयोजक कर्ण बहादुर बि.क. बताउँछन् ।
पालिकाले यस अघि सडक शिक्षा, स्वास्थ्य, सिँचाइ र खानेपानीको क्षेत्रमा कामहरू गर्ने गरेको भएपनि गत वर्षबाट सिप विकास सँग सम्बन्धित (सफ्टवेयरका) कार्यक्रमहरू लाई प्राथमिकतामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले बताए ।