९ महिना सम्म भएन लेखा कर्मचारीको परीक्षा
सागर बोहरा । रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा न १ मा रहेको नागकन्या माध्यमिक विद्यालयले ९ महिना देखि लेखा कर्मचारीको परीक्षा गराउन सकेको छैन । गत २०८० भदौ १९ गते नागकन्याले लेखा कर्मचारीको विज्ञापन खोलेको थियो । विज्ञापन खोलेको ९ महिना बितिसक्दा पनि नागकन्या माविले लेखा कर्मचारीको परीक्षा नगराएर ढुक्कसँग बसेको छ ।
विद्यालयले खुलाएको लेखा कर्मचारीको विज्ञापनमा ११ जनाले दरखास्त दिएका थिए । मन्थली नगरपालिका वडा नं. १२ बस्ने अनिता मिजार , मन्थली नगरपालिका वडा नं. ८ बस्ने सुशील कुमार श्रेष्ठ, नीराजन श्रेष्ठ, मन्थली नगरपालिका वडा नं. १ बस्ने नम्रता माझी, कल्पना श्रेष्ठ, मिरा श्रेष्ठ, सङ्गीत माझी, सुनिता माझी, ईश्वरी श्रेष्ठ, रन्जन सुवेदी, सुजाता ढकाल र लिखु तामाकोसी गाउँपालिका ६ बस्ने सुस्मा श्रेष्ठले लेखा कर्मचारीका लागी दरखास्त दिएको नागकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक सुमित्रा खड्काले बताईन् ।
दरखास्त दिएका परीक्षार्थी परीक्षा कुरेर जागिर खाने आसमा बसेका छन् तर विद्यालयले परीक्षा सञ्चालन गर्न सकेको छैन । विद्यालयले नगरपालिकालाई परीक्षा गराइदिनुस् भन्दा नगरपालिकाले परीक्षा गराउन सकेको छैन, खड्काले बताइन । उनले भनिन्– हामीलाई लेखा कर्मचारी नहुँदा विद्यालयमा काम गर्न धेरै समस्या भएको छ। नगरपालिकाले लेखा कर्मचारीको परीक्षा सञ्चालन गर्न आनाकानी गर्दै आएको छ। वास्ता गरेको छैन ।
यता नगरपालिकाको भनाई भने फरक छ । विद्यालयले परीक्षा सञ्चालनका लागी कुनै लिखित जानकारी नगराएको मन्थली नगरपालिका भनाई छ । नगरपालिकालाई कुनै पनि लिखित जानकारी नआएकोले परीक्षा मिति तोक्न नसकेको नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकी बताउँछन् । उनी भन्छन् – विद्यालयले लिखित जानकारी गराएमा नगरपालिकाले तुरुन्त परीक्षा गराउनेछ ।
विद्यालय र नगरपालिकाको कुरा सुन्दा एकअर्कामा जुँगाको लडाई भएको प्रस्ट देखिन्छ । विद्यालयले नगरपालिकालाई दोष लगाउने र नगरपालिकाले विद्यालयलाई दोष लगाउँदा ११ जना युवाहरूको भविष्य भने अन्योलमा परेको छ । एक अर्काको जुँगाको लडाइँका कारणले ११ परीक्षार्थीको भविष्य माथि खेलबाड गर्ने छुट कसैलाई छैन । यो परीक्षा हुन नसक्नुमा दोष कसको हो? यसको सही छानबिन गरी ती युवाहरूको भविष्य माथि खेलबाड गर्नेलाई कानुनी कठघरामा उभ्याएर दरखास्त दिने युवाहरूलाई न्याय दिनै पर्छ ।