सामूहिक राजीनामा दिने रामेछाप अस्पतालका कर्मचारीको चेतावनी

रामेछाप । रामेछाप अस्पतालमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा.अच्युत पौडेलविरुद्ध कर्मचारीहरूले आन्दोलनमा उत्रने र स्वास्थ्यकर्मी सहित कार्यालय सहयोगीहरूले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन ।
मेसु डा.पौडेलले कर्मचारीहरूलाई मानसिक तनाव दिने, कामको चापको बेवास्ता गरी अनावश्यक काम दिने, वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुख दिने, पदीय जिम्मेवारी भन्दा फरक काम दिने गरेको कर्मचारीले बताएका छन् ।
अस्पतालमा कार्यरत ४० जना कर्मचारीहरूले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई काम गर्ने वातावरण नभएको भन्दै पत्र पठाएका छन् । उनीहरूले पत्रमा मेसु डा.पौडेलले पालो गरेर खाजा÷खाना खान जाँदा नजानु भन्ने गरेको कुरा समेत उल्लेख गरेका छन् । पत्रमा भनिएको छ,‘सीमित आफूलाई मन परेका कर्मचारीलाई प्राथमिकता दिने गरेकाले हामी कर्मचारीहरूलाई अहिलेको अवस्थामा काम गर्ने मानसिकता नभएको हुनाले मेसु डा.पौडेललाई तत्काल कारबाही गरी हामी निस्वार्थ भावनाले काम गर्ने कर्मचारीहरूलाई काम गर्ने वातावरण बनाइदिनुहुन अनुरोध गर्दछौँ ।’
कर्मचारीहरूले अस्पतालमा काम गर्ने उचित वातावरण नबनेमा थप आन्दोलनमा जाने र सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । स्टाफ नर्स स्मृति थापा मगरले अस्पतालमा नयाँ मेसु आए लगतै आफूहरूले राम्रोसँग काम गर्ने वातावरण नपाएको मानसिक तनाव लिएर काम गर्दै आएको बताइन् । अस्पतालमै कार्यरत अर्की स्टाफ नर्स शिखा हायुले पालो गरेर खाजा÷खाना खान जाँदा समेत मेसुले नजानु भन्ने गरेको बताइन् । खाना र खाजा पनि नखाएर हामीले कसरी काम गर्न सक्छौँ त ? उनले दुखेसो पोखिन् ।
अस्पतालका मेसु पौडेलले भने कर्मचारीले आफूलाई नचाहिँदो आरोप मात्र लगाएको बताए । आफूलाई अस्पतालबाट हटाउने षडयन्त्र भएको उनले बताए ।
रामेछाप अस्पताल मेसु आउनु अघि निमित्त मेसु भई काम गरेका डा.केशव श्रेष्ठले नेपाल भरिका १५ बेडका अस्पतालहरू मध्य उत्कृष्ट भएको रामेछाप अस्पतालमा यस्तो हुनु दुखद कुरा भएको बताए । विभिन्न सेवाहरू थप भएर विशेषज्ञ चिकित्सक सहित सेवा प्रवाह गरिरहेको अस्पतालमा यस्तो कुराहरूले सेवाग्राहीमा नकारात्मक सन्देश जाने उनको भनाई छ । मेसु डा.पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको उनले बताए । मेसु पौडेलसँग सबै कर्मचारी रुष्ट रहेको उनले बताए ।
यो विषयमा मन्त्रालयसँग छलफलमै रहेको अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनले बताए । उनले भने एक÷दुई दिन भित्रमै समस्याको समाधान निस्कन्छ ।

जनस्वास्थ्य प्रमुख साहको प्रत्यक्ष हस्तक्षेप
अस्पतालका कर्मचारीहरूले जनस्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र साहले अस्पतालमा प्रत्यक्ष रूपमा हस्तक्षेप गरेको आरोप समेत लगाएका छन् । साह अप्रेसन कक्षमा जाने र बेलुका वार्डमा राउन्डमा पनि सधैँजसो आउने गरेको र आफूहरूलाई काम गर्न असहज भएको पनि उनीहरूले बताएका छन् ।
यो विषयमा साह सँग प्रश्न गर्दा साहले भने–यो कुरामा कुनै सत्यता छैन । कामको शिलशिलामा अधिकार क्षेत्र भित्र जानु नै पर्छ। उहाँहरूले आरोपका लागी आरोप लगाउनु भएको हो । अस्पतालमा सिसिटिभिहरू छन्, त्यहाँबाट समेत सत्यतथ्य जान्न सकिन्छ नै ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button