राष्ट्र सेवकलाई बाधा अवरोध गरेको कसुरमा ७ दिन म्याद थपी अनुसन्धान

रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले ला.प.से. सेवन गरेका ३ जनालाई नियन्त्रणमा लिएको छ । मन्थली नगरपालिका वडा नं.१ भैशेश्वरमा मन्थली अस्पताल रामेछापको समन्वय तथा सहयोगमा ट्राफिक प्रहरीले लागु पदार्थ सेवन (ला.प.से.) चेकजाँच गरिएको थियो ।
प्रहरीले गत आइतबार दिउसो ४ः३० देखि बेलुका ६ बजे सम्म २२ वटा सवारी साधन चेकजाँच गरिएको थियो । प्रहरीले चितवन जिल्ला भरतपुर महानगरपालिका– १६ स्थायी ठेगाना भएका ना.८ ख ७१८१ का मालवाहक ट्रक चालक वीरेन्द्र मगर, महोत्तरी जिल्ला बर्दिबास न.पा.–३ स्थायी ठेगाना भएका बा.प्र.०१–००४ क १४२१ का जेसिबि चालक विजय परियार, भक्तपुर जिल्ला चाँगुनारायण न.पा.–१० स्थायी ठेगाना भएका बा.प्र.०६–००१ ज ०१७० नं. को यात्रुवाहक विद्युतीय भ्यान चालक सुनिल रंजितकारलाई नियन्त्रणमा लिएको हो ।
लापरबाही गरी सवारी चलाई रहेको अवस्थामा शङ्का लागि सोधपुछ गर्दा ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूलाई असहयोग गरी बाधा अवरोध गरेको साथै लागू औषध सेवन गरी सवारी साधन चलाएकोले नियन्त्रणमा लिई राष्ट्र सेवकलाई बाधा अवरोध गरेको कसुरमा ७ दिन म्याद थप लिई अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक कौशल न्यौपाने जानकारी दिए । साथै ला.प.से. चेकजाँच कार्य अभियानकै रूपमा सुरु गरिएको समेत प्रहरीले जनाएको छ ।