बागमती प्रदेशका पाँच अस्पताल बन्यो प्रादेशिक अस्पताल
रामेछाप । आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले चितवन जिल्लाको माडी स्थित बघौडा अस्पताल, रामेछापको मन्थली अस्पताल, दोलखाको जिरी अस्पताल, सिन्धुपाल्चोकको मेलम्ची अस्पताल र सिन्धुलीको दुधौली अस्पताललाई क्रमशः प्रादेशिक अस्पतालमा विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको बजेट प्रस्तुत गरेका छन् ।
बिरामीको अत्यधिक चाप हुने मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन रामेछापका प्रदेश सांसदहरूले पटक पटक प्रदेश सभामा आवाज उठाउँदै आएका थिए। मन्थली नगरपालिकाले पनि मन्थली नगर अस्पताललाई प्रदेश स्तरको अस्पताल बनाउन प्रदेश सरकारसँग लामो समयदेखि माग गर्दै आएको थियो ।
मन्थली नगरपालिकाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको मन्थली अस्पतालमा स्तरोन्नति गरी २०७८ माघ २८ गतेबाट सञ्चालन गरिरहेको छ । यो अवधिमा मन्थली अस्पतालले सेवा ग्राहीहरूलाई प्रभावकारी सेवा प्रदान गर्न विभिन्न सेवाहरूको विस्तार गर्दै लगेको छ । अहिले दैनिक २०० भन्दा बढी सेवाग्राहीले मन्थली अस्पतालबाट सेवा लिइरहेका छन् । मन्थली अस्पतालबाट रामेछाप सहित छिमेकी ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु र सिन्धुली जिल्लाका नागरिकले सेवा लिँदै आएका छन् ।