विद्यालय प्रशासनका कारण विद्यार्थीलाई समस्या नै समस्या

रामेछाप । गाउँपालिकाका अधिकांश माध्यमिक विद्यालयहरूको प्रधानाध्यापकले विद्यालयका स–साना समस्याहरूलाई वास्ता नगर्दा विद्यार्थीहरूलाई समस्या नै समस्या भएको छ । यो सँगै विद्यार्थी र शिक्षक बिचको सम्बन्ध सुमधुर हुन नसक्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर लथालिङ्ग अवस्थामा पुग्न थालेका छन् ।
गोकुलगंगा गाउँपालिकाले सुरु गरेको विद्यार्थीसँग जनप्रतिनिधि र सुरक्षाकर्मी कार्यक्रममा भएको सवाल जवाफ कार्यक्रममा विद्यार्थीले विद्यालय प्रशासनसँग धेरै प्रश्नहरू राखेका थिए । गाउँपालिकाको ७ वटा माध्यमिक विद्यालयमा भएको कार्यक्रममा विद्यार्थी र सरोकारवाला बिच हाकाहाकी सवाल जवाफ भएको थियो ।
अधिकांश विद्यार्थीको प्रश्नमा विद्यालय प्रशासनले सामान्य कुरामा पनि ध्यान दिन नसकेको प्रष्ट भएको छ । विद्यालयमा चाहिने खानेपानी टुक्राटाक्री पाईपका कारणले विद्यार्थीले नपाउनु, शौचालय फोहोर हुनु, शौचालयमा चुकुल नहुनु, भएका चुकुलहरू बालमैत्री नहुनु, विद्यालयमा पालिकाले पठाएको सेनिटरी प्याडको सदुपयोग नहुनु लगायतका प्रश्नहरू सबै विद्यालयमा थिए ।
विद्यालय प्रशासनले स–साना समस्या समाधानका लागी समेत वडा तथा पालिकाको मुख ताक्ने गरेको, वडा तथा पालिकालाई दोष दिन गरेको पाइएको छ ।
सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सङ्घका अध्यक्ष, प्रधानाध्यापक, वडा अध्यक्ष, पालिका प्रवक्ता, उपाध्यक्ष, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक लगायत सरोकारवाला र विद्यार्थी बिच भएको कार्यक्रममा सरोकारवाला सबैले शैक्षिक सुधार र विद्यालयको व्यवस्थापनमा दिलोज्यानले लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।



