तीन सय बढि छात्रालाई छात्रवृत्ति

रामेछाप । जिल्लाको मन्थली नगरपालिका वडा नं –१ का स्थानीय श्याम सुवेदीको परिवारले जिल्लाका विभिन्न ९ वटा विद्यालयका ३१२ जना गरिब तथा जेहेन्दार छात्राहरूलाई नगद, १ वर्षलाई पुग्ने २ दर्जन भन्दा बढी कापी, डटपेन र झोला वितरण गरेका छन् । जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम मार्फत उनले उक्त नगद लगायतका सामान वितरण गरेका हुन्।
गरिब तथा जेहेन्दार छात्राहरू मध्ये केहीलाई पूर्ण र केहीलाई आंशिक छात्रवृत्ति दिइएको तेज प्रसाद (श्याम) सुवेदी ले बताए । पूर्ण छात्रवृत्ति अन्तर्गत प्रति विद्यार्थी १८ हजार नगद , विद्यालय पोसाक र झोला वितरण गरिएको थियो भने आंशिक तर्फ विद्यालय पोसाक, झोला र १ वर्षलाई पुग्ने कापी वितरण गरिएको थियो ।
सहयोग रकम पाएपछि आफूजस्ता गरिब तथा जेहेन्दार छात्राहरूलाई पठन पाठनका लागि निक्कै सहज भएको मन्थली माविकी इन्दिरा बुढाथोकीले बताइन् । भैरवी मावि सुनारपानी की छात्रा गीता कार्कीले पनि यस्ता कार्यक्रमले निक्कै सहयोग पुगेको बताइन् ।
गाउँमा अझै पनि छोरा र छोरीको विभेद कायम रहेको , छोरालाई निजी विद्यालय र छोरीलाई सामुदायिक विद्यालय मा पढ्न पठाउने छोरीलाई शैक्षिक सामाग्री किन्न नसक्ने ग्रामीण परिवेशका अभिभावकहरू लाई यस कार्यक्रमले निक्कै सहयोग पुगेको तामाकोशी क्याम्पस खिम्तीका क्याम्पस प्रमुख दिवाकर खड्काले बताए ।
कार्यक्रमको प्रमुख अतिथि तथा मन्थली माविका निवर्तमान प्रधानाध्यापक गुञ्ज बहादुर श्रेष्ठले यो पुण्य कर्म जो कोहीले गर्न नसक्ने भन्दै यस्ता कार्यक्रमले वालिका र किशोरीहरूको विद्यालय प्रतिको आकर्षण बढ्ने बताए ।
८ वर्ष अघि देखि सञ्चालन गरिएको कार्यक्रममा प्रत्येक वर्ष १० लाख भन्दा बढी खर्च हुने गरेको सुवेदीले बताए । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका ६ जना, तामाकोशी क्याम्पस खिम्तीका १२ जना, , सेती देवी मावि सालु, भैरवी मावि सुनारपानी र शिद्धेश्वर मा वि गैराथोकका १०÷१० जना, जन विजय आवि का ५७ जना, हरिसिद्धी मावि चौकीघर फुलसीका ६२ जना र मावि चिण्डे फुलासीका ११३ जना छात्राहरू यो कार्यक्रममा सहभागी थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button