राहतमा एमालेको राजनीति
रामेछाप । वि.सं. २०७२ सालमा भूकम्प आउँदा मान्छेको जीवन यति नै हुने रहेछ जस्तो हामी सबैलाई लागेको थियो । प्रकृतिले साथ नदिएको दिन हामी सबैको जीवन अन्त्य हुने सुनिश्चित रहेछ । कथामा सुन्ने गरेको ९० सालको भूकम्प आउँदा उपत्यका मैदान भएको थियो, सबैको आश्रय खुला आकाश भएको थियो । तर, हाम्रो पुस्ताले त्यो कहाली लाग्दो वास्तविकता भोग्यौँ । संसार अँध्यारो लाग्थ्यो । कसैलाई भेट्दा पनि केही मन ढक्क फुल्ने गर्दथ्यो । मनमनै यिनी पनि सकुशल नै रहेछ जस्तो लाग्थ्यो । महिनौँ पछिसम्म पनि कसैसँग भेट्दा खुसी हुन्थ्यौँ । यो भावना महिनौँसम्म चल्यो ।
अहिले दोरम्बा शैलुङ ठुलो पीँडामा छ । दोरम्बामा गएको पहिरोको समाचार सुन्दा र देख्दा पनि कहाली लाग्दो छ । समय र परिस्थिति फरक भए पनि समस्या र पीडा उस्तै पायौँ । प्रकृतिको जथाभाबी विनाश गर्दा र संरक्षण गर्न नसक्दा ‘आमा’ पनि भन्न नपाइने रहेछ । कताबाट कसरी आयो मान्छे बगाउने पहिरो र गाउँनै बगाउने मुसलधारे पानी ? एक रात परेको पानी पनि यस्तो होला र, या कतै जमिन फाटेर हो वा मूलै फुटेर जवाफ कसैसँग छैन । एकै छिनमा पुरै पहरी बस्ती तहसनहस भयो ।
विपद् भनेको विपद् नै हो । न यसले धनी गरिब भन्दछ, न त यसले मेरो वा तेरो नै । प्राकृतिक विपद्को सामना सबैले समान ढङ्गले गर्नै पर्छ । नेपालको बाढीपहिरो प्राकृतिक प्रकोप दिन प्रतिदिन विकराल हुँदै छ । आजको समस्या सेलाउन नपाउँदै कहिले अर्को विपद् आइलाग्नेको थाहा छैन । जलवायु परिवर्तन वन जङ्गलको विनाश, जथाभाबी प्लटिङका कारण समस्या झन् विकराल बन्दैछ । यस्तो अवस्थामा सम्पूर्ण नेपाली एकताबद्ध भई पीडितलाई तत्काल राहत र समस्या समाधानको लागि एकताबद्ध हुन जरुरी छ ।
तर, रामेछापको दोरम्बा शैलुङमा गएको पहिरो पीडितलाई दिने राहतमा नेपाल कम्युनिष्ट पार्टी एमालेले राजनीति गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको भदौ १३ गते बसेको बैठकले निर्णय पछिको सूचनामा प्रस्ट रूपमा छ की ’ स्थलगत निरीक्षणबाट तत्काल उपलब्ध गराउनु पर्ने भनी किटान गरिएका राहत सामग्रीहरू सहयोग गर्न चाहने व्यक्ति÷निकायहरूले विपद् प्रभावित क्षेत्रको आवश्यकता अनुसारको सामग्री सम्बन्धित स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्थाका लागि समेत सम्बन्धित सबैमा अनुरोध छ ।’ त्यस्तै भदौ १० गतेकै दिन दोरम्बा शैलुङ गाउँपालिकाले पनि एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउन पर्ने भनी निर्णय गरेको थियो ।
तर नेकपा एमाले रामेछापले आफ्नो प्रत्यक्ष उपस्थिति देखाउनैका लागी जिल्ला विपद् व्यवस्थापन समिति र पालिका स्तरले गरेको निर्णयले लत्याएर मनमर्जी तरिकाले राहत वितरण गरेको छ । एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरीया आफूले जिल्ला विपद् व्यवस्थापन समितिले गरेकै निर्णयलाई टेकेर दोरम्बा पुगेर राहत वितरण गरेको बताउँछन् । उनी भन्छन्– जिल्ला विपद् व्यवस्थापन समितिले ४ नं. बुँदामा प्रस्ट लेखेको छ की गाउँपालिका मार्फत वा रोहवरमा राहत वितरण गर्नु । एमाले रामेछापले गाउँपालिकाले गरेको निर्णय मान्नु पर्ने हो र ? एमाले रामेछाप गाउँपालिकाको मातहतको कुनै निकाय होइन, नेकपा एमालेलाई गाउँपालिका के निर्णय गर्छ भन्ने कुराको के सरोकार ?
यता दोरम्बा शैलुङ गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै एमाले रामेछापले आफ्नो मर्जीले राहत वितरण गरेको बताएको छ । पालिकाका प्रवक्ता मेचमान योञ्जनको हस्ताक्षर भएको प्रेस विज्ञप्तिमा लेखिएको छ– दोरम्बा शैलुङ गाउँपालिकाको वडा नं. ३ लेखर्क भन्ने स्थानमा मिति २०८१ साल भाद्र ८ गते परेको अविरल वर्षाले ठुलो धनजनकोक्षति भएको ब्यहोरा सर्वविधितै छ । यस विषम परिस्थितिको कारण सिंगो गाउँपालिका – अत्यन्तै दुखित छ । यस दुखद घडीमा गाउँपालिकामा बसोबास गरिरहनु भएका दाजुभाइ तथा दिदीवहिनिहरु धैर्य धारण गरी सुरक्षित रहनुहुन समेत गाउँपालिका परिवार हार्दिक अनुरोध गर्दछौँ । उक्त स्थानमा भएको जनजनको क्षतिको लागि राहत सङ्कलन, अस्थायी बसोबासका कार्यहरू भइरहेको छ । गाउँपालिकाको मिति २०८१÷०५÷१० गते, पालिका स्तरीय विपद् व्यवस्थापन मितिको बैठक र जिल्ला विपद् व्यवस्थापन समिति समेतको निर्णय अनुसार राहत वितरण कार्य गाउँ पालिकाको एकद्वार प्रणाली मार्फत वितरण गर्ने भन्ने निर्णय भएको ब्यहोरा सर्बबिधितै छ । यसै अवस्थामा नेकपा एमालेले निर्णय विपरीत आफ्नो खुसीले राहत वितरण गरेको भन्ने सुनिन आएकोले गाउँपालिकाको ध्यान आकर्षण भएको छ । यस विषम परिस्थितिमा राहत वितरण कार्यलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सबै सङ्घ संस्था, नागरिक समाज, राजनैतिक दल, व्यक्ति तथा समुदायलाई गाउँपालिकाको निर्णय अनुसार राहत वितरण कार्यलाई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
राहत वितरण जस्तो कुरामा राजनीति गरिनु सही पक्कै होइन । तर एमाले रामेछाप आफ्नो गल्ती मान्ने पक्षमा छँदैछैन । उ त जिल्ला विपद् व्यवस्थापन समितिको ४ नं. बुँदामा भएको निर्णयलाई टेकेर राहत वितरण गरेको हो भनी रहेको छ ।
तर पालिकाको विज्ञप्तिलाई आधार मान्ने हो भने दोरम्बा शैलुङ गाउँपालिकालाई एमाले रामेछापले बाँडेको राहको विषयमा केही थाहा छैन, उसले अन्त कतैबाट जानकारी पाएको मात्र हो ।
घर न घाटको अवस्थामा विद्यालयको चिसो भुईँमा जीवनका अमूल्य पल बिताइरहेका नागरिकलाई दिने राहतमा पनि यो तरिकाको राजनीति हुनु भनेको राहतमा पनि राजनीति घुस्नु हो । विधि, विधान, पद्धति, नीति र नियम भन्दा माथि जाने र लत्याउने छुट कसैलाई छैन ।