यातायात व्यवस्था कार्यालय खुर्कोटमा दुई महिनामै आउँछ लाइसेन्स

रामेछाप । सवारी चालक अनुमति पत्रको ट्रायल (परीक्षा) पास गरेका र नवीकरण गर्न दिएका व्यक्तिहरु धेरैले डेढदेखि २ वर्षसम्म रसिदको भरमा सवारी चलाउनुपरेको छ । नवीकरण गर्न दिएको लाइसेन्स पुनः नवीकरण गर्ने बेला हुँदासम्म पनि स्मार्ट कार्ड हात नपर्ने चौतर्फी गुनासो आइरहेका बेला यातायात व्यवस्था कार्यालय खुर्कोटमा ट्रायल पास भएको दुई महिनामा सवारी चालक अनुमित पत्रको स्मार्ट कार्ड हातमा आइपुग्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ तर यातायात व्यवस्था कार्यालय खुर्कोट सिन्धुलीमा दुई महिनामै सवारी चालक अनुमतिपत्र हातमा आइपुग्छ । यातायात व्यवस्था कार्यालय खुर्कोट सिन्धुलीमा ट्रायल पास भएको दुई महिनामै स्मार्ट कार्ड हातमा आइपुग्छ भन्दा हालै वर्ग ‘बी’ को ट्रायल परीक्षा पास गरेका रामेछाप मन्थलीका सौजन्यप्रसाद सत्याल अचम्मित भए । उनले वर्ग ‘ए’ को लाइसेन्स नवीकरणका लागि दिएको डेढ वर्ष भइसकेको रहेछ तर अहिलेसम्म नवीकरण गर्न दिएको स्मार्ट कार्ड हातमा परेको छैन । दुई महिनामै स्मार्ट कार्ड आउँछ भन्दा सुरुमा त उनले विश्वास नै गरेनन् । उनले भने–जबकि मैले नवीकरण गर्न दिएको लाइसेन्स त डेढ वर्षमा पनि आएको छैन भने दुई महिनामै कसरी आउँछ लाइसेन्स ? गत जेष्ठ महिनाको अन्तिम साता ट्रायल पास गरेका एक व्यक्तिले लिइसकेको स्मार्ट कार्ड देखाएपछि मात्र उनले पत्याए । तर पनि उनी सोधिरहेका थिए, मेरो पनि दुई महिनामा लाइसेन्स आउँछ त ?

त्यतिमात्र होइन खुर्कोटमा लिखित परीक्षा र ट्रायल समेत एकै दिन हुने भएकाले पनि धेरै सहज भएको सेवाग्रहीको भनाइ छ । लिखित परीक्षा र ट्रायल एकैदिन दिएका रामेछापका सन्तोष ढुङ्गेल भन्छन्– लिखित परीक्षा र ट्रायल एकै दिन भएकाले सहज भयो, फेरि आइरहनु परेन, खर्च पनि जोगियो, समयको पनि बचत भयो । टाढाबाट आउनेहरुको लागि त झन खर्च धेरै कम भयो । लिखित परीक्षा र ट्रायल छुट्टा छुट्टै दिन भएको भए रात बस्नुपर्दा धेरै खर्च हुन्थ्यो तर दुवै परीक्षा एकै दिन हुँदा खर्च धेरै जोगिएको छ, उनले भने ।

सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटमा रहेको यातायात व्यवस्था कार्यालयमा गत आर्थिक वर्ष २०८०÷०८१ मा २ हजार ३ सय ११ जनाले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका छन् । आवेदन दिएकामध्ये १ हजार १ सय २४ जनाले ट्रायल (परीक्षा) पास गरेका छन् भने १ हजार १ सय ८७ जना ट्रायल (परीक्षा) मा फेल भएको यातायात व्यवस्था कार्यालय खुर्कोट सिन्धुलीका सूचना अधिकारी प्रेमप्रकाश घिमिरेले जानकारी दिए ।
सूचना अधिकारी घिमिरेका अनुसार खुर्कोटमा २०८० साल फागुन २५ गतेबाट सवारी चालक अनुमतिपत्रका लागि ट्रायल (परीक्षा) सुरु भएको थियो । ट्रालय परीक्षा सुरु भएको ५ महिनाको अवधिमा २ हजार ३ सय ११ जनाले सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका हुन् ।

यातायात व्यवस्था कार्यालय खुर्कोटका अनुसार सो अवधिमा वर्ग ‘ए’ का लागि १ हजार ३ सय ६०, वर्ग ‘बी’ का लागि ६ सय ३४, वर्ग ‘सी’ का लागि ७४, वर्ग ‘ई’ का लागि १४, र वर्ग ‘के’ का लागि २ सय २९ जनाले आवेदन दिएका थिए ।
वर्ग ‘ए’ का लागि १ हजार ३ सय ६० जनाले आवेदन दिएकामा ७ सय १२ जना पास भएका छन् भने ६ सय ४८ जना फेल भएका छन् । वर्ग ‘बी’ का लागि ६ सय ३४ जनाले आवेदन दिएकामा ३ सय ६ जना पास हुँदा ३ सय ३८ जना फेल भएका छन् । वर्ग ‘सी’ का लागि ७४ जनाले आवेदन दिएकामा १८ जना पास भएका छन् भने ५६ जना फेल भएका छन् । त्यसैगरी वर्ग ‘ई’ का लागि १४ जनाले आवेदन दिएकामा ७ जना पास हुँदा ७ जना फेल भएका छन् । त्यस्तै वर्ग ‘के’ का लागि २ सय २९ जनाले आवेदन दिएकामा ८१ जना पास भएका छन् भने १ सय ४८ जना फेल भएका छन् ।

गत असार १३ गतेसम्म भएका ट्रायलमा पास भएकाहरुको सवारी चालक अनुमतिपत्र प्रिन्ट भएर कार्यालयमा आइसकेको पनि यातायात व्यवस्था कार्यालय खुर्कोट सिन्धुलीका सूचना अधिकारी घिमिरेले जानकारी दिए । असार १३ गतेसम्म ट्रायल पास भएकाहरुलाई कार्यालयमा आएर आफ्नो सवारी चालक अनुमतिपत्र लैजान पनि सूचना अधिकारी घिमिरेले अनुरोध गरेका छन् । यातायात व्यवस्था कार्यालय खुर्कोट सिन्धुलीले प्रत्येक हप्ताको बिहिवार लिखित र ट्रायल दुई परीक्षा लिँदै आएको छ । सेवाग्रहीको चाप बढेको बेला रिट्रायल भने शुक्रवार पनि लिने गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button