९० वर्षको उमेरमा कृषि र पशुपालनमा सक्रिय तारादत्त

डडेलधुरा । सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ । तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका– १ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रूपमा सक्रिय छन् । यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
उनले ४० रोपनी जग्गामा तरकारी खेती गर्दै आएका छन् । तरकारीबाटै वार्षिक १० लाख रुपैयाँ आम्दानी लिने गरेको उनले बताए । विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आएका छन् । हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन् । तीनवटा उन्नत जातका भैँसी छन् । घरका भित्ताभरि माहुरीका आधुनिक तथा परम्परागत घार छन् । आँगनको कुनामा खरायोका खोर छन् ।
कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनी बताउँछन्। ‘सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जे–जे गरे पनि कृषिलाई छाड्न सकिनँ,’ उनी भन्छन्, ‘यही काम गर्दागर्दै मर्न पाइयोस्, अरू मलाई केही चाहिएन ।’ खेती र पशुपालनबाटै आर्थिक रूपमा सम्पन्न उनी गाउँघरका छिमेकीलाई संकट पर्दा सरसापटी दिने गर्छन् । उनको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताइन् ।
उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैनन् । तर, माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा छन् ।
भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । बजारमा पाइने नयाँ बिउ, मल, विषादीले पनि असर गरेको उहाँको अनुभव छ । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन । पहिलेको परिमाणमा भैँसीले दिने दुध नै घटेको उनी बताउँछन् । ‘कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दुधको उत्पादन घटाएको त होइन ?’ उनले भने ।
देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनको सुझाव छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button