गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा
रामेछाप नगरपालिकाका गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । नगरपालिकाको ९ वटै वडाहरूमा पुगेर उपप्रमुख बालकुमारी कार्कीले पोषणयुक्त खानेकुरा वितरण गरेकी हुन् । गर्भवती महिलाहरूको लागी निःशुल्क भिडियो एक्सरे सेवा पनि प्रत्येक वडामा पुगेर प्रदान गरिएको उपप्रमुख कार्कीले बताइन् ।
अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरूको संख्या बढाउन र पौष्टिक खानेकुरा खुवाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम निकै प्रभावकारी भएको उनले बताइन् । घरघरमा सुत्केरी गराउने प्रचलन हटाउन र सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सुत्केरी कोसेली झोला उपहार दिइएको हो ।
मंगलबार वडा नं ७ सुकाजोरका १७ जना सुत्केरी र १४ जना गर्भवती महिलालाई पौष्टिक तत्त्वयुक्त खानेकुरा वितरण गरिएको हो । गर्भवती महिलालाई अण्डा र सुत्केरी महिलालाई घ्यू, तेल र बेबी किट वितरण गरिएको नगरपालिकाले जनाएको छ ।