सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास
रामेछाप । सडक दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न मंगलबार रामेछापमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । अभ्यासमा रामेछाप नगरपालिका–८ टुँडीखेल नजिकै यात्रु बाहक बस दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिएको थियो । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी,रेडक्रसका प्रतिनिधीहरुको सक्रियता रहेको देखाइएको थियो ।
कृत्रिम अभ्यासको मुख्य उद्देश्य कुनै सडक दुर्घटना भइहालेमा उद्धार र उपचारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले बताए । विपद् कुनै पनि समयमा आउन सक्ने भएकाले सुरक्षाकर्मी तथा उद्धारमा संलग्न सुरक्षा निकाय र घाइतेहरूको उपचारमा संलग्न चिकित्सकलाई तयारी अवस्थामा राख्न पूर्व अभ्यास गराइएको उनले बताए ।
जुनसुकै समयमा विपद्का घटना हुने भएकाले सम्बन्धित निकाय सदैव तयारी अवस्थामा रहनुपर्ने रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले बताए । कुनै पनि विपद्का घटना थाहा दिएर तथा बाजा बजाएर नआउने भएकाले यस्ता अभ्यासको ठुलो महत्त्व रहेको नगरप्रमुख न्यौपानेको भनाई छ । अस्पतालले घाइते बिरामीहरूलाई गर्ने रेस्पोन्स,सेवा सुविधा तथा उपचार राम्रो पाइएको उनले बताए। घटना अभ्यासका बारेमा घटना व्यवस्थापनमा संलग्न बिरामीहरूको अभिनय आर.बि.पी डब्लुका कलाकारहरूले निर्वाह गरेका थिए ।