किसानका लागि कृषि तथा लघु उद्यम प्रर्दशनी
रामेछाप । मन्थली नगरपालिकाले मंगलवारबाट सदरमुकाम मन्थलीमा नगर स्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेलाको आरम्भ गरेको छ । प्रर्दशनीको उद्घाटन प्रमुख अतिथि ऊर्जा ,जलश्रोत तथा सिँचाइ राज्य मन्त्री कान्छाराम तमाङ्गले पानसमा बत्ती बालेर गरे ।
प्रमुख अतिथि तामाङले मन्थली नगरपालिकाले गर्न लागेको मेला तथा प्रर्दशनीले मन्थली नगरपालिकाको आर्थिक सम्वृद्धिको आधारशिला निर्माण गर्ने विश्वास व्यक्त गरे । नगरपालिकाले आफ्नै लगानीमा कृषकहरूको उत्पादनलाई बजार सम्म ल्याएर गर्न लागेको कृषि मेला प्रदर्शनीले कृषकहरूको ब्यवसायीकतामा टेवा पुग्नुका साथै बजारीकरणमा समेत सहयोग पुग्ने धारणा उनले राखे ।
पछिल्लो समयमा मन्थली नगरपालिका कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुँदै गएको भन्दै त्यसैको सार्वजनिकरण र बजारीकरण गर्नका लागि पनि प्रर्दशनी तथा मेलाको आयोजना गरिएको मन्थली नगर प्रमुख लव श्रेष्ठले बताए। त्यो सँगै कृषकहरू स्वयंले कृषि क्षेत्रमा गरेको लगानी र त्यसबाट व्यवसायी कृषकहरूमा आएको परिवर्तन सँगै उत्पादनको अवस्था आदिका बारेमा नगरपालिकालाई आङ्कलन गर्न र त्यसबाट उनीहरूको आर्थिक उपार्जनमा पनि सहयोग पुगोस् भन्नका लागि पनि नगरले कृषि मेलाको आयोजना गरेको उनले बताए ।
नगरपालिकाले स्थानीय जिल्ला समन्वय समितिको मैदानमा ५३ वटा स्टलको व्यवस्था गरेको र पहिलो दिनै सबै स्टलहरू कृषकहरूको सामग्रीले भरिएका छन् । सबै स्टलहरूमा कृषकहरूले आ–आफ्नो उत्पादन प्रर्दशनी र बिक्रीका लागि राखेका छन् ।
त्यस बाहेक प्रदर्शनी स्थलमा ढाका, साबुन, सर्फ,बाँसबाट बनाइएका सामाग्रीहरू होजियारी, दुना, टपरी, जुस समेत राखिएको छ । यसका लागि मन्थली नगरपालिकाले सहभागी कृषकहरू र व्यवसायीका लागि आतेजाते खर्च बेहोर्नुका साथै दुई दिन सम्म खाने र बस्ने प्रयोजनका लागि आर्थिक व्यवस्थापन समेत गर्ने जानकारी कार्यक्रम अधिकृत गोविन्द कट्टेलले गराए ।
दुई दिन सम्म चल्ने प्रदर्शनीका लागि जिल्ला समन्वय समितिको हाता भित्र कृषक तथा उद्यमीहरूलाई निःशुल्क स्टलको व्यवस्था गरिएकोले र उक्त स्टलमा सामान प्रर्दशनी र बिक्री गर्न पाउँदा आफूहरूलाई पनि खुसी लागेको मन्थली नगरपालिका वडा नं ८ का तरकारी कृषक राम कुमार कर्माचार्यले बताए ।