अम्बर आदर्शको नाफा अघिल्लो वर्ष भन्दा दोब्बर बढी
मन्थलीमा संचालित अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०–८१ मा अघिल्लो वर्ष भन्दा दोब्बर बढी नाफा कमाएको छ । अम्बर आदर्शले आर्थिक वर्ष मा २०७९–८० मा जम्मा ६ लाख ३४ हजार ७ सय १२ नाफा कमाएको भए पनि आर्थिक वर्ष २०८०–८१ मा त्यसको दोब्बर भन्दा बढी १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाएको छ ।
शनिवार सम्पन्न २३ औँ वार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष रमेश ढुङ्गेलले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा हाल १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाएको उल्लेख गरिएको छ । विक्रम सम्वत २०५८ जेठ १६ गते २५ जनाबाट सुरु भएको सहकारीले २०८१ सम्म आइपुग्दा ११ सय सदस्यसहित सो नाफा कमाउन सफल भएको प्रतिवेदनमा छ । सहकारीको २ करोड ९६ लाख ६१ हजार ९१९ रुपैयाँको कारोबार रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।
आगामी दिनमा सहकारीको नियामक निकाय (नेफ्स्कुन) सहित जिल्लाका स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्दै आफ्ना गतिविधि अगाडि बढाउने योजना रहेको सुनाउँदै सहकारीका सचिव कुमार खत्रीले उस्तै प्रकृतिका सहकारीसँग समन्वय गरी मर्जको प्रक्रिया अगाडि बढाउने योजना रहेको बताएका छन् । आगामी दिनमा सहकारीको कार्य क्षेत्र विस्तार गर्दै संचालनमा रहेको ‘सुत्केरी महिलासँग अम्बर आदर्श’ कार्यक्रमलाई नियमसङ्गत रूपमा कार्यान्वयन गरिने सचिवको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभाको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष तथा सभाका प्रमुख अतिथि हिमाल ढुङ्गेलले सहकारी राम्रो बनाउन र बिगार्न संचालक समितिसँगै सदस्यहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने– वर्षमा एक दिन सहकारीका तमाम सदस्यहरूले सहकारी चलाउन पाउँछन्, तर त्यही दिन पनि समय दिन सक्दैनौँ भने त्यो सदस्यलाई सहकारीको सदस्य हुने अधिकार छैन ।
नेफ्स्कुन रामेछापका प्रमुख सूर्य थापाले पनि सहकारीहरू उद्देश्य अनुसार चल्न नसक्ने हो भने चाँडै कानुनी बाटोमा जान सक्ने चेतावनी दिए ।
अम्बर आदर्शले सदस्यहरूका लागि ल्याएको र संचालन गरेको योजनाहरू प्रशंसा योग्य रहेको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले बताए ।
साधारण सभा सहकारीका अध्यक्ष भोला थापाको अध्यक्षतामा भएको थियो । भोला थापाको नेतृत्वमा आएसँगै सहकारी लयमा फर्किएको र नाफा बढेकोे छ ।