गुनासोको पोको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीलाई

रामेछाप । जिल्लामा पशु सेवा कार्यालय नहुँदा समस्या भएको गुनासो रामेछापका उद्योगी तथा व्यवसायीहरूले गरेका छन् । आइतबार सदरमुकाम मन्थलीमा बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।
जिल्लामा पशु सेवा कार्यालय नहुँदा पशुपन्छी जन्य उद्योगहरू स्थापना गर्न, पशुपन्छीको निकासी पैठारी र बिक्री वितरण अनुमतिका लागि विभिन्न समस्याहरू भोग्नुपरेको नेशनल ब्रीडिङ फार्म प्रालिका सञ्चालक रुद्रकुमार श्रेष्ठले बताए ।
जिल्लामा दक्ष चिकित्सक सहितको पशु सेवा कार्यालय छैन । पशुपन्छीको निकासी पैठारी र बिक्री वितरण अनुमति लिन सिन्धुली, दोलखा, काभ्रे लगायत काठमाडौँ जिल्ला धाउनुपर्ने अवस्था छ । यस्ता विभिन्न झन्झटका कारण धेरै उद्योगहरू बन्द भइसके, श्रेष्ठले भने ।
रामेछाप जिल्लालाई समेत हेर्ने गरी सिन्धुलीमा पशु सेवा कार्यालय भए पनि सो कार्यालयले रामेछापमा प्रभावकारी काम गर्न नसकेको चिरञ्जीवी डेरी उद्योग मन्थलीका सञ्चालक भानु श्रेष्ठले थपे ।
कार्यक्रममा बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले जनताको आवाज बोल्ने संसद् बन्द गरेर सरकारले जनहित विरोधी काम गरेको भन्दै तत्काल प्रदेशको संसद् सुचारु गर्न माग गरे ।
बागमती प्रदेश उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले भएका उद्योग धन्दाहरूलाई व्यवस्थित गरी आयातलाई घटाउँदै निर्यात बढाउने गरी प्रदेश सरकार लागेको बताए ।
कार्यक्रममा बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले प्रदेशका सबै जिल्लामा उद्योग वाणिज्य क्षेत्रका समस्या पहिचान गरी आवश्यक योजना तथा कार्यक्रम बनाउन सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम रामेछापबाट सुरु गरिएको बताए । उनले भने–अब सरोकारवाला निकाय सहित विज्ञहरूसँग आवश्यक छलफल गरी यसलाई सम्बोधन गर्न मन्त्रालय लाग्नेछ । अब विकास भनेको पूर्वाधार मात्रै हो भन्ने मानसिकताबाट सबै मुक्त हुनुपर्छ।