रामेछाप अस्पतालमा विरामीको चाप बढ्दो

रामेछाप । रामेछाप अस्पतालमा चिसो बढेसँगै विरामीको चाप बढेको छ । आजभोली दैनिक विरामीको संख्या बढ्दो छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठका अनुसार हाल दैनिक १ सय देखी १ सय ५० जनासम्म विरामीहरु अस्पतालमा आउने गरेका छन् । जाडो बढेसँगै अस्पतालमा दम, रुघाखोकी, ज्वरो, निमोनिया, सुगर÷प्रेसर कन्ट्रोल नभएका बिरामीहरुको चाप बढेको श्रेष्ठ बताए ।
अस्पतालको सबै शैया बिरामीले भरिएका छन् । अहिले २४ जना बिरामी वेड भर्ना भएर उपचार गराइरहेको निमित्त मेसु श्रेष्ठले जानकारी दिए । वेड भर्ना भएका धेरै बिरामीहरु दम, रुघाखोकी, ज्वरो, निमोनियाको रहेको श्रेष्ठले बताए ।
अस्पतालमा दैनिक बालकदेखि बृद्धबृद्धा तथा सवै उमेर समूहका विरामीहरु चेकजाँचको लागि आउने गरेको अस्पतालले जनाएको छ । पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीहरु अस्पतालमा आएर निशुल्क उपचार सेवा लिएर गएका छन । अस्पतालमा हरेक महिनाको एक दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । अस्पतालमा विशेषज्ञ÷विशिष्टिकृत सेवा विस्तार भएपछि उपचारको लागी आउने बिरामीको संख्यामा समेत वृद्धि भएको छ । अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या समेत बढेको छ । वितेको ४ आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या दोब्बरले बढेको हो । पछिल्लो समय जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि जिल्लाबासीलाई सहज भएको छ । प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर राजधानी काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पताल लानुपर्ने महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको हो । प्रसुति सेवाकै लागि रामेछाप सहित छिमेकी जिल्ला सिन्धुली, ओखलढुंगा र दोलखाबाट समेत आउने गरेको अस्पतालले जानकारी दिएको छ ।



