तिनलालको जिल्ला रामेछापमा तीनलाल स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैँ

रामेछाप । अनेरास्ववियु रामेछाप २० वर्ष मुनिको तीनलाल स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।
फागुन ९ देखि १२ गतेसम्म तीनलाल स्मृति कप २०८१ प्रतियोगिता संचालन हुन लागेको हो । जिल्ला भलिबल सघंको प्राविधिक सहयोगमा अनेरास्ववियु रामेछापको आयोजनामा फागुन ९ देखि १२ गतेसम्म तीनलाल स्मृति कप २०८१ प्रतियोगिता संचालन हुन लागेको हो ।
प्रतियोगिताको तयारी पुरा भइसकेको सोमबार मन्थलीमा पत्रकार सम्मेलन गरी आयोजक अनेरास्ववियु रामेछापले जानकारी दिएको छ ।
प्रतियोगिता संचालनका लागि करिव ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताको मुख्य प्रायोजक मन्थली नगरपालिका रहेका र अन्य स्थानीय तह तथा व्यावसायीहरुको सहयोगबाट संचालन गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता जिल्ला समन्वय समितिकोे खेल मैदानमा संचालन हुने छ ।
रामेछापमा जन्मिएका नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा अनेरास्ववियु रामेछापले प्रतियोगिता गर्न लागेका अध्यक्ष भट्टराईले जानकारी दिए ।
अनेरास्ववियु रामेछापका अध्यक्ष भट्टराईका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार, सिल्ड मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
सेमिफाइनलमा पुग्ने सबै टिमले १०÷१० हजार रुपैयाँ प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई ३ हजार नगद ट्रफि र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट कोच सहित ६ विधाका खेलाडीलाई नगद पुरस्कार र ट्रफि प्रदान गरिने जनाएको छ ।
देसभरका २० वर्ष मुनिका खेलाडी जो कोहीले टिम दर्ता गर्न सक्ने छन् । प्रतियोगितामा सहभागीका लागी काठमाडौँ, भक्तपुर, रसुवा, सिन्धुली, ओखलढुङ्गा र काभ्रे लगाएका जिल्लाहरूबाट खेलाडीहरुले सम्पर्क गरिरहेका अध्यक्ष भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा खेलाडीहरुले फागुन ८ गते मध्यान्हसम्म टिम दर्ता गर्न सक्ने छन् । टिम दर्ता शुल्क ५ हजार रहेको र टिम दर्ता अनलाइन बाट गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता फागुन ९ गते शुक्रवार दिउँसो १ बजे (अनेरास्ववियु) केन्द्रीय सचिव डा. सुजन कडरिया, नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुंगेलसहितको उपस्थितिमा उद्घाटन गरिने छ, भने अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बढालले समापन गर्ने आयोजकले जानकारी दिएको छ ।