लदी पूजाको अवसरमा मन्थलीमा खुल्ला नृत्य प्रतियोगिता

रामेछाप । नेपाल माझी विद्यार्थी संघ रामेछापले लदी पूजा २०८१ का अवसरमा सदरमुकाम मन्थलीमा सांस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको छ । उसले सोमबार जिल्ला समन्वय समितिको खुल्ला चउरमा सांस्कृतिक कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगिताको आयोजना गरेको हो ।
उक्त प्रतियोगितामा रामेछाप मन्थली र खाँडादेवी गाउँपालिकाका गरी १७ वटा समूह बिच प्रतियोगिता भएको थियो । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त प्रतियोगितामा मन्थली नगरपालिकाकी तपसिला माझीको नृत्यले प्रथम स्थान प्राप्त गरेको थियो भने खाँडादेवी गाउँपालिका कोथवेको समूहको सामूहिक नृत्यले दोस्रो स्थान प्राप्त गरेको थियो । त्यसैगरि मन्थली नगरपालिका वडा न १ को सामूहिक नृत्यले तृतीय स्थान लिँदा र रामेछाप नगरपालिका वडा नं ७ धनेघाटकी हिराता माझीको नृत्यले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।
विजयी कलाकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि मन्थली नगर प्रमुखले नगद रुपैयाँ क्रमशः १० हजार,८ हजार,५ हजार र ३ हजार रुपैयाँ,मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रमका अवसरमा रामेछाप मन्थली र खाँडादेवी गाउँपालिका समेतका गरी १७ वटा समूह बिच प्रतियोगिता भएको थियो ।
उक्त कार्यक्रममा बोल्ने माझी अगुवा हरुले विशेष पर्वका रूपमा मनाउँदै आएको लदी पूजाको दिन सरकारले सम्मान स्वरूप सार्वजनिक बिदा दिनु पर्नेमा आफूहरूको विविध प्रयासका बिच पनि सरकारहरूले सार्वजनिक बिदा नदिएको गुनासो गरेका थिए ।
सो अवसरमा माझी उत्थान संघका केन्द्रीय सचिव गोपाल माझी,नेपाल आदिवासी जनजाति महासंघका जिल्ला शाखाका अध्यक्ष श्री बहादुर माझी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि शुक्र माझी,नेकपा एमालेका जिल्ला सदस्य वल बहादुर माझी,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य नवराज माझी लगायतका वक्ताहरूले प्रकृतिपुजक जातिको रूपमा आफ्नो पहिचान बनाएको माझी जातिको संरक्षण र संरक्षणमा सरकारले थप चासो दिनु पर्ने भन्दै उनीहरूको उत्थानका लागि सरकारलाई गम्भीरताका साथ लाग्न आग्रह गरे ।
कार्यक्रमका अन्त्यमा बोल्दै मन्थली नगर प्रमुख लब श्रेष्ठले लदी पूजा २०८१ का अवसरमा आम माझी समुदायलाई शुभकामना दिँदै उनीहरूको उत्थानका लागि स्थानीय सरकारले सहयोग गर्ने कुरामा कुनै पनि कन्जुस्याइँ नगर्ने धारणा राखे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button