अनुपमको हस्ताक्षर अभियान मन्थलीबाट प्रारम्भ

अनुपम अभियान अन्तर्गत २०८२ साल जेठ १३ गते “राजनीतिक खबरदारी” अभियानको सन्दर्भमा हस्ताक्षर संकलन कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका बाट औपचारिक रूपमा प्रारम्भ गरिएको छ। कार्यक्रमको उद्घाटन महिला नेतृ अन्तर पार्टी महिला संजाल रामेछापकी अध्यक्ष गंगा अधिकारीले गरिन् ।
कार्यक्रममा अनुपम अभियानका उद्देश्य र कार्ययोजना सम्बन्धी अभिमुखीकरण प्रस्तुत गरिनुका साथै आगामी दिनहरूमा स्थानीय तहसम्म अभियानलाई कसरी प्रभावकारी रूपमा विस्तार गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिएको थियो।
उक्त कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका महिला नेतृहरू, स्थानीय तहका महिला जनप्रतिनिधि, महिला सहकारी संस्थाहरू, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, अभियानकर्मीहरू तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रमको निष्कर्ष स्वरूप जिल्लाभित्र रहेका सम्पूर्ण स्थानीय तहहरूमा अनुपम अभियान २०८२ अन्तर्गत हस्ताक्षर संकलन अभियान संचालन गर्ने निर्णय गरिएको छ।


