Trending

सौन्दर्य, सशक्तीकरण र सपनाः मिस ग्रान्डकी बलियो दावेदार चाहना प्रधान

रामेछाप । ‘ग्ल्यामर र घाम–दुवैमा चम्किने युवती’ भनेर चिनिँदै गरेकी छन् रामेछाप जिल्लाकी चाहना प्रधान, जो अहिले मिस ग्रान्ड नेपाल २०२५ को मञ्चमा शक्तिशाली उपस्थिति जनाउँदै निर्णायकहरू र दर्शकहरूको मन जित्दै गएकी छन्।
मन्थली नगरपालिका–६ की स्थायी बासिन्दा प्रधानको आत्मविश्वास, सशक्त अभिव्यक्ति शैली, जीवन्त व्यक्तित्व र मौलिक सौन्दर्यले उनलाई प्रतियोगिताको प्रारम्भिक चरणदेखि नै फरक पहिचान दिलाएको छ। मिस ग्रान्ड नेपालको प्रशिक्षण क्याम्पमा उनी सहभागी ३५ जनामध्ये अग्रणी दावेदारका रूपमा अगाडि बढेकी छिन्।
सौन्दर्य प्रतियोगितामा भाग लिने धेरैको कल्पना केवल ¥याम्प वा फोटोसुटमा सीमित हुन्छ। तर, चाहनाको कथा फरक छ। उनी एक स्थानीय स्तरमै सञ्चालन भइरहेको सफल घरेलु उद्योग चाहना फुड प्रोडक्टकी संस्थापक हुन्। विशेषतः स्थानीय स्रोतबाट बनाइने अचार तथा अन्य खाद्य उत्पादनको माध्यमबाट उनले आफूलाई आत्मनिर्भर उद्यमीको रूपमा स्थापित गरेकी छिन्।
कृषि विषयमा डिप्लोमा अध्ययन सकेकी चाहनाले व्यावसायिक सोचका साथ गाउँमै उद्यम सुरु गर्दा धेरैलाई प्रेरणा दिएकी छिन्। उनका बुबा राजु प्रधान र आमा सपना प्रधानको निरन्तर साथ र हौसलाले पनि उनको यात्रालाई सबल बनाएको देखिन्छ।
सौन्दर्य प्रतियोगिता प्रायः शहरी जीवनशैलीसँग जोडिन्छ। तर, चाहनाले देखाएकी छिन् —गाउँको परिवेश, परिश्रम र आत्मबलले पनि राष्ट्रिय मञ्चमा पहिचान । उनि गाउँको घाममा हुर्किएकी युवती अहिले राजधानीको चमकधमकबीच आत्मविश्वासपूर्वक उभिएकी छिन्।
“मिस ग्रान्ड नेपालको प्रतिस्पर्धा केवल सौन्दर्य प्रदर्शन होइन, आत्मा र उद्देश्य देखाउने ठाउँ पनि हो,” चाहनाको भनाइ छ।
आगामी साउन अन्त्यमा आयोजना हुने ग्रान्ड फिनालेमा उपाधि जितेमा चाहनाले नगद पुरस्कार, इभी स्कूटर, चलचित्र अभिनय अवसर, गुडविल एम्बासडरको टाइटल, साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्।
यो सम्भावनाले मात्र होइन, चाहनाको समर्पण, सम्हालिएको भाषणशैली र निरन्तर अभ्यासले उनलाई यो मुकुटको लागि बलियो दाबेदार बनाएको हो।
चाहनाले युवाहरूसँग सन्देश दिएकी छिन् ः ‘सौन्दर्य केवल देखावटी होइन—आत्मनिर्भरता, दृष्टिकोण र योगदान पनि हो। म चाहन्छु, मेरो यात्राले अरू युवाहरूलाई पनि आफ्नै स्थानबाट उदाउँन प्रेरित गरोस्।’
उनको कथा अब केवल मिस ग्रान्ड नेपालको प्रतियोगितासम्म सीमित छैन । यो हो एउटा ग्रामीण युवतीले सपना, संघर्ष र सशक्तीकरणलाई साथ लिएर राष्ट्रिय पहिचान बनाउने प्रेरणादायक यात्रा।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button