लिजामा गोकुलगंगा गाउँपालिका उत्कृष्ट

रामेछाप । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको ताजा स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा रामेछापका आठ स्थानीय तहमध्ये गोकुलगंगा गाउँपालिकाले ९२ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामै अग्रस्थान सुरक्षित गरेको छ । यसैबीच, उमाकुण्ड गाउँपालिका भने ६७ प्रतिशत अंकमा सीमित रहँदै सबैभन्दा पछाडि परेको छ । जिल्लाका अन्य पालिकाहरूले मध्यमदेखि राम्रो अंक हासिल गरे पनि नतिजाले रामेछापको स्थानीय शासन व्यवस्थामा असमान क्षमता र कार्यक्षमता रहेको स्पष्ट देखाएको छ ।
९२ प्रतिशत अंकसहित गोकुलगंगा गाउँपालिका यसपटकको मूल्याङ्कनमा जिल्लाको उत्कृष्ट स्थानीय तहका रूपमा उदाएको छ । यसले नीतिगत स्पष्टता, योजना कार्यान्वयनमा पारदर्शिता, जनप्रतिनिधिको सक्रियता र प्रशासनिक दक्षतामा राम्रो काम गरेको प्रष्ट हुन्छ । स्थानीयस्तरमै सेवा प्रवाहको गुणस्तर बढाउनका लागि नियमित मूल्याङ्कन, बजेट कार्यान्वयनको शुद्धता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नु गोकुलगंगाको बलियो पक्ष मानिएको छ ।
जिल्ला सदरमुकाम मन्थलीलाई समेट्ने मन्थली नगरपालिका पनि ९०.५ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट तहमा परेको छ । नगरले बजेट व्यवस्थापन, स्थानीय संरचना सुदृढीकरण र सार्वजनिक सेवाको पहुँचमा गत वर्षभन्दा उल्लेख्य सुधार गरेको देखिन्छ । नागरिकमैत्री सेवा विस्तार गर्ने प्रयास र सूचना–प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नु यसको उल्लेखनीय पक्ष हो ।
रामेछाप नगरपालिका (८३.२५ प्रतिशत) र सुनापती गाउँपालिका (८७ प्रतिशत) अपेक्षाकृत राम्रो अंकमा रहे पनि उत्कृष्ट श्रेणीमा भने पुग्न सकेनन् । यी पालिकाले आधारभूत सेवा प्रवाहमा सहजता ल्याए पनि योजना निर्माणमा नागरिक सहभागिता र दीर्घकालीन दृष्टिकोणमा अझै कमजोरी रहेको विज्ञहरू बताउँछन् ।
त्यसैगरी लिखु तामाकोसी गाउँपालिका (७२.५ प्रतिशत) र खाँडादेवी गाउँपालिका (७२.२५ प्रतिशत) ले लगभग उस्तै नतिजा पाएका छन् । यी पालिकाहरूको मूल्याङ्कनले व्यवस्थापकीय संरचनामा केही सुधार भए पनि नीति कार्यान्वयन र प्रशासनिक दक्षतामा चुनौती अझै कायम रहेको संकेत गरेको छ । जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिने उमाकुण्ड गाउँपालिका भने ६७ प्रतिशत अंकमा सीमित रहँदै पछाडि परेको छ । प्रशासनिक तयारी, योजना कार्यान्वयन र स्थानीय निकायबीचको समन्वयमा कमजोरी देखिनुले यसको क्षमता मूल्याङ्कनलाई असर गरेको हो ।
दोरम्बा शैलुङ गाउँपालिका भने लिजामा समावेश भएको छैन ।
लिजा मूल्याङ्कन कुनै साधारण अङ्कको खेल मात्र होइन, यसले स्थानीय तहको संस्थागत संरचना, योजना, प्रशासनिक दक्षता, नागरिकसँगको उत्तरदायित्व र सेवा प्रवाहको स्तरलाई मापन गर्ने आधार दिन्छ । विशेषज्ञहरूका अनुसार उच्च अंक ल्याउने पालिकाहरू पारदर्शिता, दिगोपन र सुशासनमा अगाडि हुन्छन् भने कमजोर अंक ल्याउने तहले प्रशासनिक कमजोरी, नीति कार्यान्वयनमा असक्षमता र नागरिक सहभागितामा कमी देखाउँछन् ।
मन्त्रालयले मूल्याङ्कन गर्दा योजना निर्माण र कार्यान्वयन, मानव संसाधनको व्यवस्थापन, आर्थिक अनुशासन, सूचना व्यवस्थापन, सामाजिक समावेशीकरण र पारदर्शिता जस्ता मापदण्डलाई आधार मान्छ । यसले स्थानीय तहलाई आफ्नो कमजोरी सुधार्न र आगामी दिनमा प्रभावकारी शासन सञ्चालनमा मार्गदर्शन गर्ने अपेक्षा राखिन्छ ।
स्थानिय तहको क्षमता मूल्याङ्कन नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएको हुन्छ । उच्च स्कोर ल्याउने पालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि प्रवद्र्धन, स्थानीय पूर्वाधार र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा जनउत्तरदायी कार्यक्रमलाई दिगो बनाउन सक्छन् । यसको उल्टो अवस्थामा भने नागरिक सेवाप्रवाह ढिलो हुने, योजना अधुरा रहने र पारदर्शितामा कमी आउने जस्ता समस्या देखा पर्छन् ।
रामेछापका केही पालिकाले उत्कृष्ट परिणाम ल्याउनु सकारात्मक भए पनि अन्य पालिकाहरूले सुधार नगरे नागरिकस्तरमा असन्तुष्टि बढ्ने खतरा विशेषज्ञहरू बताउँछन् ।
रामेछापका पालिकाहरूको मूल्याङ्कनले देखाएको अर्को पक्ष भनेको पालिकाबीचको ठूलो अन्तर हो । एकातिर गोकुलगंगा र मन्थलीजस्ता पालिकाले ९० प्रतिशतभन्दा बढी अंक ल्याउँदा अर्कातिर उमाकुण्डजस्ता पालिकाले ६७ प्रतिशतमा सीमित हुनुले स्थानीय शासनमा समान क्षमता र परिणाम देखाउन नसकेको सन्देश दिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button