काँग्रेस सधैं अग्रपंक्तिमा थियो, छ र हुनेछ ः काँग्रेस रामेछाप

रामेछाप । नेपाली काँग्रेस रामेछापले शुक्रबार १० औं संविधान दिवस विशेष ‘सद्भाव र्याली’सहित मनाएको छ । सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम)को नेतृत्वमा मन्थलीको कटहरबोटबाट सुरु भएको र्याली बीपी चोक हुँदै पार्टी कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।
तर, यस वर्षको र्यालीमा नेपाली काँग्रेसले आफ्नो पार्टीको झण्डा नबोकेको र कुनै नारा पनि नलगाएको विषयमा संगठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । र्यालीमा केवल नेपालको राष्ट्रिय झण्डा मात्रै बोकिएको थियो । नेताहरू र कार्यकर्ताहरूबीच असन्तोष प्रकट हुनुको कारण बताउँदै केहीले भने, “झण्डा र नारा विना गरिएको यो र्याली मलामी हिँडेजस्तो देखियो, संविधान दिवसको उत्सव यसरी मनाउन सकिँदैन ।” यही असन्तुष्टिका कारण कतिपय नेता तथा कार्यकर्ताले कार्यक्रममा भाग नै लिएनन् ।
यस सम्बन्धमा स्पष्ट पार्दै सभापति पुर्ण बहादुर तामाङले पार्टीको केन्द्रीय निर्देशनअनुसार यस वर्ष पार्टी झण्डा प्रयोग नगरी राष्ट्रिय झण्डामात्रै बोकेर सद्भाव र्याली निकालिएको बताए । उनले केन्द्रबाट आएको आदेशलाई स्थानीय तहले इमानदारीपूर्वक पालना गरेको जनाए ।
र्यालीपछि पार्टी कार्यालयमा आयोजित सभामा अधिकांश नेताहरूले संविधानको रक्षा सबै नेपालीको साझा जिम्मेवारी भएको उल्लेख गरे । उनीहरूले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट दस्तावेजको रूपमा व्याख्या गर्दै दलगत स्वार्थभन्दा माथि उठेर यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । हालैको जेन–जी आन्दोलनलाई स्मरण गर्दै नेताहरूले उक्त आन्दोलनको मूल माग संविधान खारेज गर्ने नभई भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनेमा सीमित रहेको स्पष्ट पारे । तर, केही राजनीतिक दलहरूले खराब नियतका साथ आन्दोलनलाई भड्काएर देशका संरचना ध्वस्त पार्न खोजेको आरोप समेत लगाइयो ।
सभामा वक्ताहरूले दिवंगत सभापति शुसिल कोइरालाले प्रधानमन्त्री हुँदा संविधान ल्याउन देखाएको साहसिक नेतृत्व र राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षणमा देखाएको त्यागलाई स्मरण गरे । उनीहरूले काँग्रेसका सबै तहका नेता तथा कार्यकर्तालाई संविधानको रक्षा गर्न एकताबद्ध भएर अघि बढ्न आह्वान गरे ।
कार्यक्रममा पार्टी नेताहरूले २००७ सालदेखि प्रत्येक निर्णायक आन्दोलन र राजनीतिक मोडमा काँग्रेसले अग्रसर भूमिका खेल्दै आएको इतिहास स्मरण गर्दै भने, “देशलाई संरक्षित गर्ने जिम्मेवारी होस् वा आन्दोलनको नेतृत्व गर्ने, काँग्रेस सधैं अग्रपंक्तिमा रहँदै आएको छ ।”
यद्यपि, कार्यक्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापका नेता तथा कार्यकर्ताहरूलाई सभापति तामाङले नाम तोकेर कार्यक्रम स्थलबाट निकालेकोले साँझ नेविसंघ रामेछापका नेता तथा कार्यकर्ताले विरोध गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button