रामेछापमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

रामेछाप । आगामी दशैँ, तिहार र छठ लगायतका चाडपर्वलाई लक्षित गरी रामेछाप जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रुहरूको सुरक्षित, सहज र व्यवस्थित आवतजावत सुनिश्चित गर्न सेलेघाट, खिम्ति र मन्थलीस्थित देवकोटा चोकमा विशेष सहायता कक्ष सञ्चालनमा ल्याइएको हो।
सहायता कक्षमा चाडपर्वका कारण बढ्ने यात्रुको भीड व्यवस्थापन, सवारीसाधनको सुरक्षात्मक अनुगमन, भाडा नियन्त्रण, दुर्घटना न्यूनीकरण र यात्रुहरूलाई आवश्यक जानकारी उपलब्ध गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै, आकस्मिक स्वास्थ्य समस्या आएमा उपचार सहयोगको व्यवस्थासमेत मिलाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, चाडपर्वका समयमा अनावश्यक भीडभाड, यात्रु ठगी, ओभरलोडिङ र सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार रोक्न कडाइका साथ निगरानी गरिनेछ। सहायता कक्षमार्फत यात्रुहरूलाई गन्तव्यअनुसार सवारीसाधन खोज्न, सुरक्षित यात्रा गर्न र समस्या परे तत्काल सहयोग प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
यस्तै, प्रहरीले यात्रुहरूलाई मदिरा सेवन गरेर यात्रा नगर्न, चालकलाई अनावश्यक दबाब नदिन, सवारी चढ्दा टिकट लिन, तोकिएको भन्दा बढी भाडा नतिर्न र कुनै समस्या आए तुरुन्तै सहायता कक्ष वा नजिकैको प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ।
स्थानीयवासीहरूले चाडपर्व लक्षित यस्तो व्यवस्थाले यात्रुहरूको सुरक्षासँगै सुगम यात्रा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button