उमाकुण्डमा एथलेटिक्सका लागि सातदिने आधारभूत प्रशिक्षण सुरु

रामेछाप । उमाकुण्ड गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ का लागि स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत एथलेटिक्स विधामा सातदिने आधारभूत प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ । उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रमले विद्यालय तथा स्थानीय तहमा खेलकुद विकासलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकाको केन्द्रमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले खेलकुदलाई केवल मनोरञ्जनका रूपमा मात्र होइन, शारीरिक र मानसिक विकास, अनुशासन र नेतृत्व विकासको महत्वपूर्ण माध्यमका रूपमा बुझ्न आवश्यक रहेको बताए । “विद्यालय र स्थानीय तहमा खेलकुदको जग बलियो बनाउनु नै दीर्घकालीन लगानी हो,” उनले भने, “यस्ता प्रशिक्षण कार्यक्रमले खेलकुद शिक्षकको क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयस्तरमै एथलेटिक्स खेलको प्रवद्र्धनमा टेवा पु¥याउनेछ ।”
माध्यमिक विद्यालयका खेलकुद शिक्षक तथा वडा खेलकुद विकास समितिले सिफारिस गरेका प्रतिनिधिहरूलाई लक्षित गरी आयोजना गरिएको यो प्रशिक्षण कार्यक्रम पुस १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ । आयोजकका अनुसार विद्यालयस्तरमै दक्ष प्रशिक्षक र प्रशिक्षित जनशक्ति तयार नगरी स्थानीय तहमा खेलकुदको दीगो विकास सम्भव नहुने भएकाले यस कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको हो ।
उमाकुण्ड गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप सुनुवारका अनुसार गाउँपालिकाभित्र रहेका विद्यालयहरूमा एथलेटिक्सजस्ता आधारभूत खेल विधाको अभ्यास र प्रतियोगिता बढाउन यस प्रकारको तालिम अत्यन्त आवश्यक छ । “एथलेटिक्स सबै खेलको आधार हो,” उनले भने, “दौड, जम्प, थ्रो जस्ता सीपले अन्य खेलमा पनि सहयोग पु¥याउँछ । त्यसैले विद्यालयस्तरबाटै एथलेटिक्सलाई मजबुत बनाउन खोजिएको हो ।”
प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई एथलेटिक्सका आधारभूत सीप, प्रशिक्षण प्रविधि, खेलाडी छनोट प्रक्रिया तथा शारीरिक क्षमता विकाससम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिनेछ । तालिम तालिकाअनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सैद्धान्तिक कक्षा सञ्चालन हुनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म व्यवहारिक अभ्यास गराइनेछ ।
तालिममा दौड (स्प्रिन्ट, मिडल र लङ डिस्टेन्स), जम्प (लङ जम्प, हाइ जम्प) र थ्रो (सटपुट) का आधारभूत अभ्यास, प्रशिक्षण विधि, खेलाडीको फिटनेस मूल्याङ्कन, चोटपटकबाट जोगिने उपाय तथा प्रशिक्षण योजना निर्माणबारे जानकारी दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार यस किसिमका प्रशिक्षण कार्यक्रमले विद्यालय तथा स्थानीय तहमा खेलकुद गतिविधि थप प्रभावकारी र सुदृढ बनाउने, प्रतिभा पहिचान र उत्पादनमा सहयोग पु¥याउने तथा दीर्घकालीन रूपमा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने आधार तयार गर्ने लक्ष्य राखिएको छ ।
उक्त प्रशिक्षण राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरका अनुभवी प्रशिक्षक धनिराम चौधारीले सहजिकरण गर्ने छन् । लामो समयदेखि एथलेटिक्स प्रशिक्षण र खेलाडी उत्पादनमा संलग्न रहनुभएका चौधारीले स्थानीय तहमा दक्ष प्रशिक्षक तयार गर्नु नै राष्ट्रिय स्तरका खेलाडी उत्पादनको आधार हुने बताए ।
प्रशिक्षण कार्यक्रममा ७ जना माध्यमिक विद्यालयका खेलकुद शिक्षकसहित कुल १५ जनाको सहभागिता रहेको छ । सहभागीहरू विभिन्न वडाबाट प्रतिनिधित्व गर्ने गरी छनोट गरिएको गाउँपालिकाले जनाएको छ । सहभागी शिक्षकहरूले यस प्रकारको तालिमले आफूहरूको ज्ञान र सीप अभिवृद्धि हुने तथा विद्यालयमा विद्यार्थीलाई व्यवस्थित रूपमा खेलकुद सिकाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।
उमाकुण्ड गाउँपालिकाले पछिल्ला वर्षहरूमा खेलकुदलाई प्राथमिकताका क्षेत्रमा राख्दै आएको छ । विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड तयारी, वडा तथा पालिकास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको गाउँपालिकाले अब प्रशिक्षक र शिक्षकको क्षमता विकासमा जोड दिएको देखिन्छ ।



