चार दल, चार उम्मेदवार

रामेछाप । लामो आन्तरिक छलफल र तीव्र राजनीतिक चर्चापछि नेपाली काँग्रेसले रामेछापमा पूर्व जिल्ला पार्टी सभापति रामचन्द्र खड्कालाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा काँग्रेसको निर्णयसँगै चुनावी समीकरण स्पष्ट बन्दै गएको छ र प्रतिस्पर्धा थप कडा तथा रोचक हुने देखिएको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्व गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ (कुशल) लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। पार्टी केन्द्रले सोमबार दिउँसो उम्मेदवार टुंगो लगाएको नेकपा रामेछापका नेता तारानारायण श्रेष्ठले जानकारी दिए। यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का नेता होमबहादुर बुढाथोकीमध्ये एक जनाले टिकट पाउने चर्चा चलिरहेको थियो। विभिन्न राजनीतिक तथा संगठनात्मक आधारलाई मूल्यांकन गर्दै अन्ततः श्रेष्ठलाई उम्मेदवार बनाइएको बागमती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसदसमेत रहेका नेता श्रेष्ठले बताए।
श्यामकुमार श्रेष्ठ रामेछापको राजनीतिमा परिचित नाम हुन्। २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट रामेछाप क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। त्यसपछि २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले युवा नेता माधवप्रसाद ढुङ्गेललाई उम्मेदवार बनाइसकेको छ। संगठन विस्तार र युवा पुस्तामा प्रभाव जमाउँदै आएका ढुङ्गेलको उम्मेदवारीले एमालेले रामेछापमा पुस्तान्तरण र नयाँ नेतृत्वको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने डा. कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाएर प्रतिस्पर्धामा नयाँ आयाम थपेको छ। शिक्षित, पेशागत पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका बुढाथोकीलाई रास्वपाले ‘वैकल्पिक राजनीतिको प्रतिनिधि’ का रूपमा प्रस्तुत गरेको छ।
यसअघि कान्छाराम, रामचन्द्र खड्का, युवराज भट्टराई, भरत चौलागाईं, डा. सुमन कर्माचार्य र गेल्जे शेर्पा लगायतका नेताहरू काँग्रेसको सिफारिस सूचीमा परेका थिए। तीमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयले जिल्लाको राजनीतिमा चासो र चर्चा बढाएको थियो।
चार प्रमुख दल—नेकपा, एमाले, काँग्रेस र रास्वपाले आ–आफ्ना उम्मेदवार सार्वजनिक गरिसकेपछि रामेछापको चुनावी मैदान स्पष्ट बनेको छ। अनुभवी र पूर्व निर्वाचित नेता, स्थापित दलका युवा उम्मेदवार तथा नयाँ वैकल्पिक शक्तिका प्रतिनिधि एकै मैदानमा उत्रँदा मतदाताका लागि छनोट पनि चुनौतीपूर्ण बनेको छ। अब दलहरूको चुनावी रणनीति, स्थानीय मुद्दा र उम्मेदवारको व्यक्तिगत प्रभावले रामेछापको चुनावी नतिजा निर्धारण गर्ने देखिन्छ।



