रामेछापमा घर फोडेर चोरीगर्ने एकै दिन दुई स्थानबाट तिन जना चोर पक्राउ

रामेछाप — घर फोडेर नगद, सुन र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं ४ बस्ने बुद्ध तामाङको छोरा बर्ष २९ को आटी तामाङ सोहि स्थानका बस्ने अंदाजि बर्ष ३७ को फेमस तामाङ रहेका छन्।
प्रहरीका अनुसार दोरम्बा शैलुङ गाउँपालिका–७ खापुस्थित डिल कुमारी तथा बमबहादुर नगरकोटीको घरमा कोही नभएको मौका छोपी ढोकाको ताल्चा फुटाएर दराजमा राखिएको नगद १५ हजार रुपैयाँ र आधा तोलाको सुनको तिलहरी चोरी भएको थियो। त्यस्तै सोही गाउँपालिका–६ का सुकदेव गौतमको घरको ढोका फुटाएर एचपी कम्पनीको ल्यापटप र ३ हजार रुपैयाँ नगद समेत चोरी भएको खबर प्राप्त भएको थियो।
घटनापछि प्रहरीले खोजतलास तीव्र पारेको थियो। प्रहरी चौकी गौश्वरा र प्रहरी चौकी दोरम्बा, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रविण तामाङ सहति स्थानियहरु मिलेर शनिबार बिहान करिब ९ बजे दोरम्बा शैलुङ गाउँपालिका–१ खोलाखर्कस्थित शैलुङ जाने बाटोमा शंका लागेर मोटरसाइकल जाँच गरेको थियो।
बा ६३ प ३९५ नम्बरको मोटरसाइकल चलाइरहेका आटी तामाङ र पछाडि सवार फेमस तामाङको साथमा रहेको कालो झोलाभित्र खोजी गर्दा चोरी भएको सामानहरू फेला परेको प्रहरीले जनाएको छ। झोलाभित्र नगरकोटीको घरबाट चोरी भएको सुनको तिलहरी र नगद तथा गौतमको घरबाट चोरी भएको एचपी कम्पनीको ल्यापटप बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामानहरू स्थानीयको रोहबरमा मुचुल्का बनाएर कब्जामा लिइएको र दुवै जनालाई पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैको स्वास्थ्य परीक्षण गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
तेस्तै रामेछापको लिखुतामाकोशी गाउँपालिका–६ माथिल्लो खिम्ती बजारमा चिया–खाजा पसल फुटाएर करिब १७ हजार रुपैयाँ बराबरका सामान चोरी भएको छ।
स्थानीय ५० वर्षीय बद्रीबहादुर थापाले सञ्चालन गर्दै आएको टिनको बार लगाई जस्ताले छाएको कच्ची टहरामा रहेको पसलको ढोकाको ताल्चा फुटाई भित्र रहेका बियर, लिची जुस, चुरोट र रेडबुललगायत सामान चोरी भएको प्रहरीले जनाएको छ । घटना फागुन २८ गते अपराह्न करिब ३ बजेतिर भएको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी को टोली खिम्ती प्रहरी चौकी बाट प्रहरी सहायक निरीक्षक भोला काजी तामाङको कमाण्डमा खटिएको थियो। प्रहरीले चोरीमा संलग्न रहेको आशंकामा सोही स्थानका २१ वर्षीय विनोद थापालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याई म्यादथप गरि अनुसन्धान गरिरहेको जनाएको छ।



