हावाहुरीका कारण चर्चसहित एक दर्जन घरमा क्षति

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका–१, दुरागाउँमा हावाहुरीले क्षति पु¥याएको छ । शनिबार दिउँसो आएको तीव्र गतिको हावाहुरीका कारण एक चर्च र तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने अन्य आठ घरमा आंशिक क्षति पुगेको छ ।
वडा अध्यक्ष प्रदीप तामाङका अनुसार हावाहुरीले दुरागाउँस्थित साब्रा सालमएजी चर्च विल्डिङको छानो उडाउनुका साथै संरचनामा पूर्ण क्षति पु¥याएको छ । यस्तै, स्थानीय प्रेम बहादुर खड्का, विश्वराज सुनुवार र भक्तमाया सुनुवारको घरको छानो उडाउँदा घरहरू बस्न नहुने गरी क्षतिग्रस्त भएका छन् ।
“दिउँसोको समय भएकाले मानिसहरू कामको सिलसिलामा घर बाहिर थिए, जसका कारण मानवीय क्षति हुन पाएन,“ अध्यक्ष तामाङले भने, “तर भौतिक रूपमा ठूलो नोक्सानी भएको छ । पूर्ण क्षति भएका घरबाहेक अन्य ८ वटा घरमा आंशिक क्षति पुगेको विवरण प्राप्त भएको छ ।“
हावाहुरीले लिखुतामाकोशीमा मात्र नभई जिल्लाका अन्य स्थानमा पनि क्षति पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सदरमुकाम मन्थलीस्थित प्रहरी कार्यालयको आफ्नै ट्रस्टमा क्षति पुगेको छ । यस्तै, गोकुलगंगा गाउँपालिका–१, शिवालयमा पनि केही घरहरूको छानो उडाएको प्रहरीले जनाएको छ ।
अचानक आएको विपत्तिपछि स्थानीय तहले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । घरबारविहीन भएका परिवारहरू अहिले छिमेकी र आफन्तकोमा ओत लाग्न बाध्य भएका छन् ।


