रामेछापमा बढ्दै नगदे खेतीको आकर्षण

रामेछाप । परम्परागत खेतीमा दिनानुदिन घट्दो उत्पादन, बढ्दो श्रम लागत र जंगली जनावरको बढ़्दो विघ्नका कारण रामेछाप जिल्लाका कृषकहरू पछिल्ला वर्षहरूमा नगदे खेतीतर्फ तीव्र रूपमा आकर्षित भएका छन्। मकै, गहुँ, कोदो जस्ता परम्परागत बालीले नाफा दिन छाडेपछि जिल्लाका धेरै किसानहरूले कागती, अकबरे खुर्सानी, ड्रायागन फललगायत उच्च मूल्यका नगदे बालीतर्फ मोडिएको देखिन्छ। बजारमा ती बालीको माग उच्च, मूल्य स्थिर र उत्पादन क्षमता पनि राम्रो भएपछि कृषकहरू आधुनिक खेतीबाली अपनाउँदै स्थायी आम्दानीतर्फ उन्मुख भइरहेका छन्।
मन्थली नगरपालिका–५ का युवा कृषक भरत कार्की पछिल्ला वर्षमा नगदे खेतीको मोडेलका रूपमा स्थापित भइरहेका छन्। उनले २० रोपनी जग्गामा कागतीखेती सुरु गरेका छन्। परम्परागत खेतीमै जंगली जनावरको सताइ र न्यून उत्पादनका कारण निराश भएका कार्कीले कागतीखेतीलाई वैकल्पिक रोजगारीका रूपमा रोजेका हुन्।
कार्कीको अनुभवमा मकै वा अन्य बाली लगाउँदा बाँदर लगायतका जनावरबाट बाली जोगाउनै कठिन हुने गथ्र्यो। तर कागती खेती गरेपछि कुनै जनावरले बगानमा क्षति नगरेको उनले बताएका छन्। यसले श्रम तथा जोखिम घटाएको छ। काठमाडौँ बजारमा कागतीको स्थिर माग रहेकाले बजारको कुनै समस्या नरहेको उनको भनाइ छ।
२०७८ देखि कागतीखेती सुरु गरेका कार्कीले हाल एक हजार बोटबाट वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्। युवा उमेरमै राम्रो आम्दानी गर्न सफल कार्कीका कारण गाउँका अन्य युवाहरू पनि यस्तै नगदे खेतीतर्फ आकर्षित हुन थालेका छन्।
यसैबीच, खाँडादेवी गाउँपालिका–५ का किशोर पौडेलले डेरी व्यवसायसँगै अकबरे खुर्सानीखेतीलाई आयस्रोतको महत्वपूर्ण आधार बनाउँदै आएका छन्। डेरीमा व्यस्त रहने पौडेल आफूसँग बाँकी समयलाई सदुपयोग गर्दै मर्चिङ प्रविधिबाट अकबरे खुर्सानी उत्पादन गरिरहेका छन्।
पौडेलका अनुसार मर्चिङ प्रविधिले उत्पादन उल्लेख्य रूपमा बढाउने भएकाले यो प्रविधि सफल भए खाँडादेवी–५ लाई अकबरे खुर्सानी हबका रूपमा विकास गर्ने लक्ष्य रहेको छ। अकबरे खुर्सानी उच्च मूल्यमा बिक्री हुने र बजार खोज्न नपर्ने भएकाले खेती विस्तार गर्न उत्साहित भएको उनले बताए।
२.५ रोपनी जग्गामा गरिएको व्यावसायिक खुर्सानी खेतीबाट किसान पौडेलले करिब चार लाख पचास हजार रुपैयाँ आम्दानी गरेका छन्। उनले लगाएको करिब १३ सय खुर्सानीका बिरुवाबाट यस वर्ष करिब १५ सय केजि उत्पादन हासिल भएको छ, जुन स्थानीय किसानका लागि प्रेरणादायी उदाहरण बन्दै गएको छ।
पौडेलका अनुसार खेतीका क्रममा उनले युरिया मलको प्रयोग नगरेको बताए। धेरै किसानले उत्पादन बढाउन र बोटको वृद्धि तीव्र बनाउन रासायनिक मल प्रयोग गर्ने भए पनि आफूले प्रकृतिसँग मिल्ने तरिकालाई प्राथमिकता दिएको उनले बताए। “अन्य कृषकले उत्पादन बढाउन युरिया हाल्ने गरेको देखेँ, तर मैले हालिनँ,” पौडेलले भने, “रासायनिक मल नहाल्दा पनि उत्पादन राम्रै आयो भन्ने कुराले अझै उत्साहित बनाएको छ।”
यद्यपि रोग तथा ढुसीबाट बचाउन भने उनले आवश्यक ढुसी नआउने औषधि प्रयोग गरेको बताए। मौसमको अनिश्चितता, वर्षात् र चिस्यानका कारण खोर्सानीमा ढुसी लाग्ने जोखिम बढी हुने भएकाले रोग नियन्त्रणका लागि औषधि प्रयोग अनिवार्य भएको उनको धारणा छ।
यतिबेला मन्थली नगरपालिका–५ का अर्का कृषक रामबहादुर शाही पनि नगदे खेतीका प्रेरणादायी पात्र बन्न पुगेका छन्। २०५३ सालदेखि काठमाडौँमा नर्सरी तथा पुष्प व्यवसायमा संलग्न शाही केही वर्षअघि गाउँ फर्किएर कागती, ड्रायगन, आँप, अम्बा, मेवा, बोधिचित्तलगायत फलफूल तथा विरुवा खेती सुरु गरेका छन्।
दुई वर्षअघि सुरु गरिएको ड्रायगन फलखेतीबाट यस वर्ष मात्र ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने शाहीको अनुमान छ। हालसम्म २ लाख रुपैयाँभन्दा बढीको फल बिक्री भइसकेको र बजारमा ड्रायगनको माग बढ्दो भएकाले मूल्य पनि राम्रो रहेको शाही बताउँछन्।
तीन दशकपछि गाउँ फर्किएका शाहीले अब यही खेतीलाई स्थायी रूपमा अगाडि बढाउने, गाउँमै बस्ने र आधुनिक कृषि मोडेल बनाउन योगदान गर्ने लक्ष्य लिएका छन्।
रामेछापमा बढ्दै गएको नगदे खेतीले कृषकलाई राम्रो आयस्रोत मात्र बनेको छैन, यसले कृषि क्षेत्रलाई दिगो, व्यवसायमुखी र बजारमुखी मोडेलतर्फ रूपान्तरण गरिरहेको छ। युवाहरू वैदेशिक रोजगारी छाडेर गाउँमै उद्यम गर्न प्रेरित भइरहेका छन्। स्थानीय तहले यस्ता सफल कृषकहरूको प्रवद्र्धन गर्दै आवश्यक प्राविधिक तथा सहुलियत कार्यक्रम ल्याउन सके रामेछाप छिट्टै उच्च मूल्यका बाली उत्पादन गर्ने प्रमुख जिल्लाका रूपमा परिचित बन्ने संकेत प्रस्ट देखिन थालेका छन्।



