रामेछापमा ‘भूतपूर्व सैनिक सम्मेलन’ सम्पन्न

रामेछाप । नेपाली सेना को मध्यपूर्वी पृतना अन्तर्गत हिमाली तथा पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक र हिताधिकारीहरू सहभागी ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ को अन्तिम चरण रामेछापमा सम्पन्न भएको छ।
‘सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने नारासहित आयोजित सम्मेलन खड्गदल गण, रामेछापमा सञ्चालन गरिएको थियो। कार्यक्रममा बलाधिकृत रथी प्रदिपजंग केसी को नेतृत्व रहेको थियो। सम्मेलनमा करिब ६ हजार ५ सय अवकाश प्राप्त सैनिक तथा उनीहरूका परिवारको उपस्थिति थियो।
सम्मेलनका क्रममा १०२ वर्षीया एकल महिला नरमाया कार्कीलाई ‘ज्येष्ठ शताब्दी महिला’ का रूपमा सम्मान गरिएको थियो। साथै आफ्ना सन्तानलाई सेनामा सेवा गर्न प्रेरित गर्ने अभिभावक, ज्येष्ठ भूतपूर्व सैनिक तथा उद्यमशील व्यक्तिहरूलाई प्रशंसापत्रसहित सम्मान गरिएको सेनाले जनाएको छ।
कार्यक्रममा फरक क्षमता भएका २४ जना भूतपूर्व सैनिकलाई ह्विलचेयर तथा बैसाखी वितरण गरिएको थियो।
सेनाका अनुसार यस्ता सम्मेलनले सेवारत र अवकाश प्राप्त सैनिकबीच सम्बन्ध सुदृढ बनाउने विश्वास गरिएको छ। सम्मेलनबाट प्राप्त सुझावले कल्याणकारी कोषअन्तर्गत शिक्षा, स्वास्थ्य र स्वरोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरिएका भूतपूर्व सैनिक सम्मेलनका शृङ्खलाहरू यससँगै औपचारिक रूपमा सम्पन्न भएका छन्।



