रामेछापको राष्ट्रपति रनिङ शिल्ड मन्थली नगरपालिकाले उचाल्यो

रामेछाप । १३औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खाडादेवी गाउँपालिकामा सम्पन्न भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा खाडादेवी गाउँपालिका समन्वयमा वैशाख ९ देखि ११ गतेसम्म सञ्चालित प्रतियोगितामा विभिन्न स्थानीय तहबीच कडा प्रतिस्पर्धा देखिएको थियो।
६६ पदकका लागि भएको प्रतिस्पर्धामा मन्थली नगरपालिका सर्वाधिक सफल बन्दै रनिङ शिल्ड उचाल्न सफल भयो। मन्थलीले ३२ स्वर्ण, २४ रजत र ३१ कास्यसहित कुल ८७ पदक जित्दै नगद ५० हजार रुपैयाँ समेत हात पार्यो।
लिखु तामाकोसी गाउँपालिका २० स्वर्ण, १९ रजत र २१ कास्यसहित ६० पदक जित्दै दोस्रो स्थानमा रह्यो। उसले नगद ३० हजार रुपैयाँ प्राप्त गर्यो। दोरम्बा शैलुङ गाउँपालिकाले ८ स्वर्ण, १२ रजत र १६ कास्यसहित ३६ पदक जित्दै तेस्रो स्थान हासिल गर्दै नगद २० हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताको समापनसँगै १४औँ संस्करण आगामी वर्ष सुनापती गाउँपालिकामा आयोजना गर्ने सहमति गरिएको छ। यस अवसरमा झण्डा हस्तान्तरण समेत गरिएको थियो।
समापन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीको अध्यक्षता रहेको थियो। मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले खेलकुदलाई स्थानीय तहले प्राथमिकतामा राख्दै युवा प्रतिभाको पहिचान र विकासमा टेवा पुग्ने बताए। “खेलकुदले विद्यार्थीको भविष्य निर्माणमा समेत सहयोग पुर्याउँछ,” उनले भने।
त्यस्तै, लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष केशव महतले खेलकुद विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारले बजेटसहित योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए। खेलकुद विकास समिति विघटनको चर्चा प्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो संरचना नै खेलाडी उत्पादनको आधार भएको उल्लेख गरे।
कार्यक्रममा खाडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ तथा विभिन्न पालिका स्तरीय खेलकुद विकास समितिका पदाधिकारीहरू लगाएतको उपस्थिति रहेको थियो ।



