मन्थलीको सार्वजनिक सुनुवाइ: विकास निर्माणमा नागरिकको चासो

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको समीक्षा गर्दै आफ्नो वित्तीय र भौतिक प्रगतिको खाका सार्वजनिक गरेको छ। वडा नं. ८ मा आयोजित एकीकृत घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाको समग्र वस्तुस्थितिबारे जानकारी दिइएको हो। यस अवधिमा नगरपालिकाको पुँजीगत खर्चको अवस्था भने तुलनात्मक रूपमा निकै कमजोर देखिएको छ, जहाँ विकास निर्माणका लागि छुट्याइएको बजेटको जम्मा २१.०७ प्रतिशत मात्रै खर्च भएको विवरण प्रमुख प्रशासकीय अधिकृत देबर्षी सापकोटाले प्रस्तुत गरे ।
विकास खर्च न्यून देखिनुको मुख्य कारण ठेक्का सम्झौता भएका योजनाहरूको भुक्तानी प्रक्रिया बाँकी रहनुलाई मानिएको छ। नगरपालिकाले यस वर्षका लागि कुल १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँको बजेट स्वीकृत गरेको थियो, जसमध्ये चालू खर्चतर्फ ५९.९६ प्रतिशत प्रगति भएको छ। प्रशासनिक र नियमित कार्यहरू सुचारु रहे पनि भौतिक पूर्वाधारतर्फको भुक्तानी अन्तिम चरणमा रहेकाले तथ्याङ्कमा पुँजीगत खर्च कम देखिएको स्पष्ट पारिएको छ।
योजना कार्यान्वयनको पाटोलाई हेर्दा नगरपालिकाले ठुलो संख्यामा उपभोक्ता समिति मार्फत काम अघि बढाएको देखिन्छ। कुल ६ सय योजनामध्ये ५ सय ४४ वटा योजनाहरू वडास्तरबाट उपभोक्ता समितिमार्फत सञ्चालन हुने गरी तय गरिएका छन्। तीमध्ये हालसम्म ३ सय ९८ वटा योजनाको सम्झौता सम्पन्न भइसकेको छ, जुन कुल योजनाको करिब ६७ प्रतिशत हो। यस्तै, १ सय ८७ वटा योजनाको काम सम्पन्न भई भुक्तानी भइसकेको र १२ वटा योजनाहरू भुक्तानीको अन्तिम तयारीमा रहेको जानकारी गराइएको छ।
सार्वजनिक सुनुवाइको क्रममा स्थानीय नागरिकहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक र पशुपालन जस्ता आधारभूत क्षेत्रका समस्या र विकास निर्माणमा भइरहेको ढिलासुस्तीबारे जनप्रतिनिधिसँग सिधा प्रश्न गरेका थिए। नागरिकका जिज्ञासा र सुझावहरूको जवाफ नगर प्रमुख लब श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सापकोटा र सम्बन्धित वडाका अध्यक्षहरूले दिएका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा रहेको एकीकृत घुम्ती शिविरले स्थानीयलाई स्वास्थ्य, कृषि र पशु सेवा जस्ता सरकारी सुविधाहरू गाउँघरमै उपलब्ध गराएर सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको थियो।












