बाढीले रामेछापको उमाकुण्डमा तीन पुलमा क्षति, विद्युत् अवरुद्ध

रामेछाप, २९ असार । अविरल वर्षाका कारण रामेछापको उमाकुण्ड गाउँपालिका–१ सुम्डास्थित बिसे खोलामा आएको बाढी र पहिरोले व्यापक क्षति पुर्‍याएको छ । आइतबार (हिजो) राती परेको भीषण वर्षासँगै बिसे खोलामा आएको पहिरोले खोला थुनिएपछि हिमगंगा नदीमा ठूलो बाढी आएको हो ।
बाढीका कारण हिमगंगा नदीमा निर्माण गरिएको पक्की पुल थुनिएर लेदोसहितको पानी पुलमाथिबाट बहिरहेको छ । बाढीले रामेछाप र सोलुखुम्बु जोड्ने यातायात सञ्चालन हुने ३ वटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजन तिमल्सिनाले जनकारी दिएका दिए ।
बाढीका कारण सुम्डास्थित लाक्पा शेर्पाकी छोरी ह्याङदु शेर्पाले सञ्चालन गर्दै आएको जस्तापाताले बारेको चिया पसलमा पानी पसेर क्षति भएको छ । यस्तै, खोला किनारमा रहेका विद्युत्का पोलहरू बाढीले ढाल्दा उक्त क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ । बाढी र पहिरोबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ आज (सोमबार) बिहान ८:०० बजे प्रहरी चौकी बाम्ती, रामेछापबाट प्रहरी सहायक निरीक्षक मुक्तिनाथ खरेलको कमाण्डमा दुई सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । अविरल वर्षा जारी रहेको र भौगोलिक विकटताका कारण प्रहरी टोलीलाई घटनास्थल पुग्न कठिन भइरहेको बताइएको छ । घटनास्थल बाम्ती प्रहरी चौकीबाट झण्डै २१ किलोमिटर पूर्वमा पर्दछ ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार एवं क्षतिको थप मूल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button