रसुवा बाढी: २८ प्रहरी अझै बेपत्ता, विभिन्न जिल्लामा २७० शव फेला

काठमाडौँ —रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका प्रहरीमध्ये २८ जना अझै सम्पर्कमा आएका छैनन्। नेपाल प्रहरीले दिएको पछिल्लो विवरण अनुसार बाढी प्रभावित क्षेत्रमा तैनाथ प्रहरी चौकीहरूका दर्जनौँ सुरक्षाकर्मी अझै बेपत्ता रहेका हुन्।
प्रहरीको तथ्याङ्क अनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ मध्ये १३ जना मात्र सम्पर्कमा आएका छन्। यस्तै, प्रहरी चौकी रसुवागढीका ९ मध्ये १ जना, स्याफूबेँसीका ८ मध्ये ५ जना, अस्थायी प्रहरी पोष्ट मैलुङका ८ मध्ये ३ जना, प्रहरी चौकी बेत्रावतीका १० मध्ये ९ जना र प्रहरी चौकी हाकुका ६ मध्ये ५ जना प्रहरी कर्मचारी मात्र हालसम्म सम्पर्कमा आएका छन्।
बाढीपछि उद्धार, राहत तथा खोजतलासका लागि प्रभावित क्षेत्रमा ४ हजार ५० जना प्रहरी परिचालन गरिएको छ।
विभिन्न जिल्लामा २७० शव फेला
बाढीका कारण ज्यान गुमाएका २ सय ७० जनाको शव हालसम्म विभिन्न जिल्लाहरूमा फेला परेको छ। प्रहरीका अनुसार नवलपरासी पूर्वमा ६२, चितवनमा १०८, धादिङमा २७, गोर्खामा २०, रसुवामा १७, नवलपरासी पश्चिममा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको हो।
६६ घाइतेको उपचार र डिस्चार्ज
बाढीमा परी घाइते भएका ६६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही निको भएर घर फर्किएका छन्। त्रिवि शिक्षण अस्पतालमा २६ जना, ट्रमा सेन्टरमा २० जना, वीर अस्पतालमा २ जना, नर्भिक अस्पतालमा २ जना, बिरामी/घाइतेमध्ये बिरेन्द्र सैनिक अस्पताल र मनमोहन अस्पतालमा १-१ जनाको उपचार भइरहेको छ। हालसम्म १४ जना घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन्।
प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको र बेपत्ता प्रहरी तथा नागरिकहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



