प्रहरी निरीक्षक कमल राउत घोषित भए रामेछापको ‘बेस्ट पुलिस अफ द मन्थ’

मन्थली (रामेछाप) — जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्यनिष्ठता, इमानदारी र उच्च व्यावसायिक कार्यकुशलता प्रदर्शन गरेको भन्दै प्रहरी निरीक्षक कमल राउतलाई २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) घोषित गरेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी निरीक्षक राउतले कर्तव्य ज्यान मुद्दाको अनुसन्धान, साइबर अपराध र डकैतीजस्ता गम्भीर अपराधका घटनाहरू सुल्झाउन महत्त्वपूर्ण भूमिका खेलेका कारण उक्त सम्मान प्रदान गरिएको हो।
प्रहरीका अनुसार, गत असार ३० गते मन्थली नगरपालिका–७ कौछिनी बस्ने २७ वर्षीय मनोज सार्कीको मृत अवस्थामा शव फेला परेको घटनामा संलग्न शङ्कास्पद व्यक्तिहरूलाई सोधपुछ तथा प्रमाणमुखी अनुसन्धान गरी कर्तव्य ज्यान सम्बन्धी कसूर साबित गराउन राउत सफल भएका थिए।
यसै गरी, रसुवाको भोटेकोशी बाढी पीडितका लागि राहत कोषमा रकम जम्मा गर्ने क्रममा अरूले जम्मा गरेको रकमको Transaction Slip लाई Chat GPT को प्रयोग गरी १ लाख २० हजार रुपैयाँ आफैँले जम्मा गरेको जस्तो नक्कली भौचर बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने गोकुलगङ्गा गाउँपालिका–२ का ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि उनको नेतृत्वदायी भूमिका रहेको थियो।
त्यस्तै, भदौ १८ गते खाँडादेवी गाउँपालिका–२ मझुवामा वृद्धदम्पतीलाई हातखुट्टा बाँधी मुखामा टेप लगाएर गहना तथा नगद लुटपाट गरी फरार भएका समूहलाई काठमाडौँ तथा भक्तपुरका विभिन्न स्थानबाट लुटिएका सुनचाँदीका गहना र नगदसहित पक्राउ गर्न राउतको कमान्डमा प्रहरी टोली खटिएको थियो। उक्त गिरोह अन्य ८ वटा अपराधमा समेत संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएको छ।
साङ्गठनिक नीति अनुसार अन्य प्रहरी कर्मचारीहरूलाई समेत कार्यसम्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि-२०७९” बमोजिम उनलाई भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख तथा प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिएका छन्।



