मेलम्चीको पानी स्थायी रुपमा काठमाडौं ल्याउन अझै ४ वर्ष लाग्ने

काठमाडौं । काठमाडा उपत्यकाको खानेपानी आवश्यकता पूरा गर्न महत्त्वपूर्ण ठानिएको मेलम्ची खानेपानी आयोजना अझै केही वर्ष लम्बिने भएको अधिकारीहरूले बताएका छन्। मेलम्ची खानेपानी विकास समितिका अनुसार दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले पुर्‍याएको क्षतिका कारण आयोजनाको मुहान सार्नुपर्ने देखिएपछि यस्तो स्थिति आइलागेको हो।

एशियाली विकास बैंकले हालै गरेको एक अध्ययनले खोलाको पानी ल्याउन बनाइएको सुरुङको मुहान करिब ५०० मिटर सार्नुपर्ने औँल्याएको छ। मेलम्ची खानेपानी आयोजना सञ्चालक समिति सदस्य एवं काठमाडौं उपत्यका खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाका अनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्रकारका प्रस्ताव अघि सारिएको छ।

आयोजनाका अनुसार अहिले मेलम्चीदेखि सुन्दरीजलसम्म बनाइएको सुरुङको लम्बाई २६ किलोमिटर छ। यसअघि विसं २०७८ साल असार र साउनमा आएको बाढीले त्यही वर्षबाट सञ्चालनमा आएको आयोजनाको हेडवर्क्स भनिने मुहानमा क्षति पुर्‍याएको थियो। आयोजनाले अस्थायी संरचना बनाएर हिउँद याममा काठमाडौंमा मेलम्चीको पानी ल्याए पनि फेरि गत साउनमा आएको अर्को बाढीले मुहान क्षेत्र पुर्नुका साथै ठूलो परिणाममा गेग्रान जम्मा गरिदिएपछि यो वर्ष मेलम्चीको पानी आउन सकेको छैन।

यसअघि अस्थायी रूपमा पानी ल्याउन बनाइएको २१० मिटर लामो सुरुङमा पनि ढुङ्गा र गेग्रानहरू भरिएको आयोजनाले जनाएको छ। नयाँ मुहान पुरिएको पुरानो मुहानबाट अझै माथि बनाउन प्रस्ताव गरिएको छ । आयोजनाका अनुसार नयाँ मुहान बनाएर स्थायी रूपमा मेलम्चीको पानी काठमाडौं ल्याउने संरचना तयार गर्न अझै करिब ४ वर्ष लाग्नसक्छ।

आयोजनाले विश्व ब्याङ्कको अध्ययनमा आफ्ना प्राविधिकहरूबाट पनि थप अध्ययन गराएर निर्णय लिइने जनाएको छ। खानेपानी मन्त्रालयले त्यसका लागि एउटा टोली गठन गरिसकिएको जनाएको छ। गत वर्ष अस्थायी संरचना बनाउन सात करोड रुपैयाँ खर्च गरेको आयोजनाले यो पटक ढुङ्गा र गेग्रान पन्छाएर संरचना मर्मतका लागि करिब १५ करोड रुपैयाँ खर्च हुने जनाएको छ।

आयोजनाको नयाँ मुहान र त्यहाँसम्म पुग्ने सुरुङ बनाउनका लागि पनि करिब चार अर्ब रुपैयाँ लाग्ने पन्त बताउँछन्। काठमाडौंको तिर्खा मेट्ने आयोजनाका रूपमा चर्चा गरिएको मेलम्ची खानेपानी आयोजना सुरु भएको २२ वर्ष भइसकेको छ। आयोजनाका लागि हालसम्म करिब ६० अर्ब खर्च भइसकेको अधिकारीहरू बताउँछन्।

मेलम्ची खानेपानी विकास समितिले सुरुङ, त्यसका लागि आवश्यक सडक र अन्य पूर्वाधार निर्माणका लागि ३० अर्ब ६५ करोड खर्च गरिसकेको छ। त्यसका अतिरिक्त काठमाडौं उपत्यकाभित्र वितरण सञ्जाल र पानी पोखरी निर्माणका लागि थप ३० अर्ब खर्च भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button