लिखुतामाकोसीमा रनिङ शिल्ड सुरु

रामेछाप । लिखुतामाकोसी गाउँपालिका दोस्रो पालीकास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हिजो शनिवार देखि सुरु भएको छ । लिखुतामाकोसीमा रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
लिखुतामाकोसी धोवी बजार नजिकै स्थित झट्टेश्वर मा.वि.धोबीको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा पालिकाभित्रका सामुदायिक र संस्थागत गरी १० विद्यालयहरूले प्रतिस्पर्धामा भाग लिएका पालिका अध्यक्ष केशव महतले जानकारी दिए ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरूलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको गाउँपालिका अध्यक्ष महतले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै लिखुतामाकोसी गाउँपालिकाका अध्यक्ष महतले खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले गाउँपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिएको बताए ।

खेलाडीलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिताले भूमिका रहने उल्लेख गर्दै महतले पालिकाका सबै खेल मैदानलाई स्तरोन्नति गरी खेलाडी उत्पादन र खेलको विकास गरिने बताए ।
प्रतियोगितामा एल्लेटिक्सतर्फ १३ इभेन्टहरू हुने छन् । जसमा एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरू समावेश गरिएको अध्यक्ष महतले बताए ।
रिले दौड,हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डीलगायतका प्रतियोगिताहरू हुने छन् ।
जिल्लाका ८ स्थानीय तह मध्ये पहिले लिखु तामाकोसी गाउँपालिकाले प्रतियोगिता सुरु गरेको हो । खेलकुद विकासको क्षेत्रमा लिखु तामाकोसी गाउँपालिका निकै नै अगाडि रहेको छ । गत वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसै पालिकामा भएको थियो । पालिकामा खेलकुद क्षेत्रलाई उत्कृष्ट बनाई जिल्लाको नमुना पालिका बनाउने अध्यक्ष महतले बताए।

