फिल्म ‘दिमाग खराब’को गीत ‘हितैको माया’मा जमेका खगेन्द्र र स्वस्तिमा

काठमाडौँ । रिलिजको लागि तिहार कुरेर बसेको फिल्म दिमाग खराबले फिल्मको तेस्रो गीत ‘हितैको माया’ सार्वजनिक गर्यो। बिहीबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतमा घर जलाइएछिको अवस्था समेटिएको छ।

राजनीतिको आवरणमा अपराधमा संलग्न नेता अनि राजनीतिक परिवर्तन गर्न कस्सिने युवाको कथा समेटिएको फिल्मको तेस्रो गीत कलाकार खगेन्द्र लामिछाने र अभिनेत्री स्वस्तिमा खड्कालाई समेटिएको छ।

सुगम पोखरेल र इन्द्रकला राइको स्वर मिठो सुनिएको छ। जयनजे वाइबाको शब्द र सङ्गीत जँचेको छ। खगेन्द्र लामिछाने र स्वस्तिमा खड्काको अभिनय नेचुरल देखिएको छ।

फिल्मको टिमले पहिलो ‘बिरामी मुलुक’ बोलको गीत सार्वजनिक गरेको थियो। एक महिना अगाडि दिमाग खराबको प्रमोशनल गीत सार्वजनिक भएको थियो।

दिमाग खराब बोलको गीतको कोरियोग्राफी भने भारतीय फिल्म ओम शान्ति ओमको टाइटल ट्र्याकको कोरियोग्राफीसँग केही हदसम्म मिलेको देखिएको थियो। टिकटकतिर दिमाग खराबको भिडियोमा ओम शान्ती ओमको टाइटल ट्रयाक राखिएको फुटेज भाइरल भइरहेका छन्।

पाँच दिन अगाडि सार्वजनिक भएको ट्रेलरमा अनुसार वैदेशिक रोजगारीमा जान खोज्दा ठगिएको र नेपालमै बसेर केही परिवर्तन गर्न चाहेको युवाको भोगाइमा फिल्म निर्माण भएको सङ्केत गरेको थियो।

विदेश जान खोज्दा ठगिएका युवाको भूमिका खगेन्द्र लामिछाने छन् भने नेपालमै बसेर परिवर्तन गर्न चाहने युवाको भूमिका दयाहाङ राई देखिएका छन्। स्वस्तिमा खगेन्द्रको श्रीमतीको भूमिकामा छिन्।

राजनीतिमा परिवर्तन चाहने युवाहरूको कथामा बनेको फिल्म ऐँचो पैचौ र नाङ्गो गाउँ प्रदर्शनमा आइसकेको छ। मध्यम गुणस्तरका दुवै फिल्ममध्ये नाङ्गो गाउँले राम्रै व्यापार गरेको थियो।

दिमाग खराब निश्चल बस्नेतले निर्देशन गरेका हुन्। उनले निर्देशन गरेको पहिलो फिल्म ‘लुट’लाई नेपाली फिल्म क्षेत्रको टर्निङ पोइन्टको रूपमा हेरिँदै आएको छ। टलकजंग टुल्के सफल भएको थियो।

तर लुटको सिक्वेल लुट-२ मा उनी सफल हुन सकेनन्। सात वर्ष पर्खिएर बनाएको दिमाग खराब उनको चौथो परीक्षण हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button