बैङ्क तथा ईन्स्योरेन्सलाई सांसद कान्छारामको आग्रह, देश भर सन्देश जाने काम गर्नुहोस्

रामेछाप । प्रतिनिधि सभाका सांसद पूणर्बहादुर तामाङ (कान्छाराम) ले जिल्लाको टारगाउँका आगालागी पीडितहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सोमबार मन्थलीमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले आयोजना गरेको बैङ्क तथा ईन्स्योरेन्सको सामाजिक उत्तरदायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गत बिहीबार जिल्लाको रामेछाप नगरपालिका वडा नं ९ टारगाउँमा लागेको आगलागीबाट घरबार विहीन बनेको १३ घर परिवारलाई मन्थलीमा शाखा कार्यालय रहेका बैंक तथा इन्स्योरेन्स कार्यालयहरु आर्थिक सहयोग गर्न आग्रह गरेका हुन् ।

बैंक तथा वित्तिय संस्थाहरुले घरवार विहिन बनेका आगलागी पीडितलाई आर्थिक रुपमा सहयोग गर्दा संस्थाको सामाजिक उत्तरदायित्व पूरा हुने र देशैभर सकारात्मक सन्देश जाने बताउँदै उनले भने, ‘तपाईँहरूले घर बनाइदिनु भयो भने यहाँ मात्रै हैन । ७७ जिल्लामै सन्देश जान्छ र तपाईँको कारोबार नाफामा जान्छ’ । उनले थपे ‘सबै बैंकले १०-१० लाख खर्च गरेर बनाउनु भयो भने एक करोड ३० लाख खर्च लाग्छ । त्यो काम गर्नु भयो भने तपाईँहरूको ७७ वटै जिल्लाको कारोबारको लागि टेवा पुग्छ ।’

नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति समेत रहेका सांसद तामाङले बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वको शीर्षकमा गर्नु पर्ने खर्च गर्ने वातावरण मिलाउनको लागि सबै बैंक तथा वित्तीय संस्थाले केन्द्रमा जानकारी गराउन आग्रह गरे । साथै उनले आफूले राज्यको माथिल्लो निकायमा पनि बैंक तथा वित्तीय संस्थाको सामाजिक उत्तरदायित्वको शीर्षकमा हुने खर्चको सही सदुपयोग गर्ने विषयमा पहल गर्ने प्रतिबद्धता जनाए ।

सम्बोधनकै क्रममा तामाङले पुष्पलाल मध्यपहाडी राजमार्ग पुष्पलालको वडा समेत नछुवाई लगिएको भन्दै रोष प्रकट गरे ।
उनले भने- “पुष्पलाल मध्यमहाडी राजमार्ग पुष्षलालको वडा नै नछुवाई लगिएको छ । पुष्पलालको नाम राखेर सडक निर्माण गर्ने अनि पुष्पलालकै वडा नछुवाई लैजाने ? मध्यपहाही राजरामर्गको कार्यालय सित्खामा ताला लगाउनुपर्छ ।”

पुष्पलाल राजर्माग सेलेघाटबाट कोलन्जोर जोड्ने सडक हुँदै पुष्षलालको वडाबाट लैजानु पर्ने उनको भनाइ छ । पुष्पलाल मध्यपहाडी राजमार्ग पुष्पलालको वडा हँदै लैजाँदा उमाकुण्ड गाउँपालिकाको बाम्ती जान समेत छोटो पर्ने उनको भनाइ छ ।
सांसद तामाङले भने, “पुष्पलाल मध्यपहाडी राजमार्ग पुष्पलालको वडा हुँदै लैजानको लागि सित्खामा रहेको राजमार्गको कार्यालयमा अनुरोध गर्नुपर्छ, हाम्रो अनुरोधलाई अस्वीकार गरेमा मेरै नेतृत्वमा गएर सित्खाको कार्यालयमा ताला लगाउनु पर्छ।”

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का, नेपाली काँग्रेसका उपसभापति लेख बहादुर कार्की, नागरिक उपभोक्ता मञ्चका अध्यक्ष रामचन्द्र कँडेल,नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, लगायत जिल्लामा सञ्चालित बैङ्क तथा ईन्स्योरेन्सका प्रमुखहरूको सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button