वी.पी कोईरालाः एक अमर ब्यक्तित्व

प्रा.डा. सुमन कर्माचार्य
हिजो मात्रै जस्तो लाग्दछ, त्यो दिन जहिले नेपालका एक मात्र राजनेता विश्वेश्वरप्रसाद कोईरालाले आफ्नो महाप्रस्थानको यात्रा सुरु गर्नु भएको तर आज ४३ बर्ष पुगिसकेछ । वि.स. २०३९ साल श्रावण ६ गतेको त्यो दिन काठमाण्डौंका चोक र गल्लीहरु सोकाकुल थिए । राष्ट्रबादी नेपालीहरु आफ्ना आदरणिय राजनेताको अन्तिम बिदाईका लागि पंत्तीबद्ध थिए । तत्कालिन तानाशाही पन्चायतका ठेकेदारहरुले राष्ट्रसेवकहरुलाई सवयात्रामा समाबेश नहुनका लागि घुमाउरो बाटोबाट बन्देज लगाउदै थिए । तर नभुतो नभबिष्य देशभरिबाट आएका नागरिकहरु वी.पी कोईराला अमर रहुन्, प्रजातन्त्र ल्याउनुछ, देशलाई बचाउनु छ को नारा घन्काउदै स्वस्फुर्त रुपमा लामबद्ध थिए । मानौ प्रजातन्त्रका पिताका बिदाई संगसंगै त्यो जनसागर तत्कालिन तानाशाहहरुका बिरुद्ध प्रजातन्त्रको आगमनको पुर्वसन्ध्याको अभ्यास गर्दै थिए । आज पनि त्यो दृश्यहरु आँखा अघि ताजै छन् ।
पिता कृष्णप्रसाद कोईरालाको राणाबिरोधी अभियानका कारण भारतमा निर्बासित परिवारमा वि.सं १९७१ भदौ २४ गते माता दिब्या देवि कोईरालाका सुपुत्रका रुपमा काशीमा वी.पी कोईरालाको जन्म भएको हो । स्कुले जीवनमा महात्मा गान्धीको भारत छोडो आन्दोलनमा आफुलाई समाहित गराएर आफ्नो स्वतन्त्रता र न्यायप्रेमी ह्रदयको परिचय त्यसैबखत दिनु भएको थियो । युवावस्थामा समाजबादी कम्युनिष्टहरुको बिद्यार्थी संगठनमा संलग्न हुनु भएतापनि तात्कालिन रुसको लेनिन र स्टालिनका आफ्ना बिचारमा फरक मत राख्ने
आफ्नै मित्रहरु प्रतिको ज्यादती र हत्या जस्ता अमानवीय कार्यहरु देखेपछि उहाँको समाजबादी कम्युनिष्टहरु प्रतिमोह भंग भएको कुरा आफ्नो अन्तर्वार्ताहरुमा ब्यक्त गर्नुभएको छ ।
भारत स्वतन्त्र नभई नेपालमा प्रजातन्त्र सम्भव छैन भन्ने बिश्वासका साथ भारतको स्वतन्त्रता संग्राममा जेल नेल भोग्दै, नेपालमा प्रजातन्त्र स्थापना गर्न नेपाली राष्ट्रिय कांग्रेसको स्थापनासंगै नेपालमा पनि राणा शासकका जेलमा कडा सजाय भोग्नुभयो । ६ फिटे अधेरो कोठामा नेल सहित दिनको आधा माना सिधा र भाँडाका नाममा एउटा लोटाका भरमा आफ्नो जीवनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाँसी हाँसी समर्पण गर्नु भयो । जेलमा मानव अधिकारको उल्लंघनको प्रश्न राख्दै २९ दिने आमरण अनशन गर्नुभयो । त्यही बेला नै उहाँलाई गलाको क्यान्सर भएको आशंका गरियो । महात्मा गान्धीको प्रयासमा उपचारका लागि जेल मुक्त हुनुभयो ।
सोही बखत सुवर्ण शम्शेरद्धारा नेपालमा प्रजातन्त्रको स्थापनाका लागि स्थापित अर्को राजनीतिक संस्था नेपाल प्रजातन्त्र कांग्रेससंगको एकिकरणबाट नेपाली कांग्रेसको जन्म २००६ सालमा सम्पन्न भई २००७ सालको सशस्त्र क्रान्तिबाट नेपाली जनतालाई रैतीबाट नागरिकमा प्रतिस्थापित गराउने कार्य सम्पन्न भएको थियो ।
वी.पीले भुमिगत बसेर कार्यकर्ताहरुलाई यातना र मृत्यु भोगाएर होईन, आफै जेल, नेल र यातनाको परबाह नगरि नेपाललाई प्रजातान्त्रिक स्वतन्त्र राष्ट्रका रुपमा पदार्पण गराउन पटक पटक ज्यानको बाजी लगाएर बिभिन्न शान्तिपुर्ण र शसस्त्र क्रान्तिको नेतृत्व गर्नु भएको छ । चाहे २००७ या २०३१ सशस्त्र बिद्रोह या २००४ सालको मजदुर आन्दोलन, या २०१४ को भद्र अवज्ञा आन्दोलन, या २०१७ सालको राष्ट्रघाती कदम पछि २०२५ सम्मको जेल जीवन, या २०३३ को राष्ट्रिय मेलमिलापको संखघोष या २०३६ को जनमत संग्रह ताकाका परिस्थिति, सबै समयमा आफ्नो कुशल राजनेताको परिचय समेत दिनु भएको छ ।
“मानिस आफ्नो संकल्प र आस्थाले यथार्थमा मानिस हुन्छ,” भन्ने आफ्नै भनाईलाई उहाँले आफ्नो जीवनमा चरितार्थ गरि देखाउनु भएको छ । बि.सं २००५मा नेपाली राष्ट्रिय कांग्रेसको उद्देश्यका बारेमा युगबाणी पत्रिकामा लेख्नुहुन्छ, “ जनतालाई संगठित गरेर शासक बर्गले जनताको इच्छा सामुन्ने झुक्नुपर्ने गरि शक्ति बढाउने र बिधान परिषदको स्थापना गर्ने । नेपालको निम्ति कस्तो प्रकारको शासनप्रणाली तयार गर्ने भन्ने निर्णय गर्ने अधिकार यस बिधान परिषद्मा रहन्छ ।” यो संकल्प वी.पी को आब्हान पछि २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको घोषणा पत्रमा पनि उल्लेख छ, जो उहाँको मृत्यु पर्यन्तको आस्था थियो ।
वी.पी नेपालको लोकतान्त्रिक आन्दोलनको प्रतिक पुरुष हुनुहुन्छ र समाजवादी आन्दोलनको प्रणेता तथा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका सक्रिय योद्धा । नेपाली कांग्रेसको २०१२ सालको छैठौ राष्ट्रिय महाधिबेशनले प्रजातान्त्रिक समाजबादी घोषणा पत्र पारित गर्यो । जसमा राजनीतिक प्रणाली र आर्थिक नीतिका लागि स्पष्ट दिशा बोध गरिएको छ ।
जसमा नेपाली कांग्रेसको राजनीतिक लक्ष्यमा भनिएको छ, प्रजातान्त्रिक समाजबादको स्थापना, संसदीय लोकतन्त्र, सर्बब्यापी बालिगमताधिकार, विकेन्द्रीत प्रशासन, स्वतन्त्र न्याय प्रणाली, नागरिक अधिकारको ब्यबस्था, लोकसेवा आयोग,महालेखा परिक्षण, रजौटा प्रथाको उन्मुलन, ईत्यादि । यस्तै आर्थिक लक्ष्यमा भनिएको छ, प्रजातान्त्रिक पद्धतिबाट समाजवादी अर्थ ब्यबस्थाको स्थापना, जमीनमाथि सामन्तवादी अधिकारको उन्मुलन, कृषिमा सुधार तथा उद्योग धन्दाको स्थापना ईत्यादि ।
यी लक्ष्यहरुको अध्ययनबाट वी.पीको प्रजातान्त्रिक समाजबादी चिन्तनको अनुमान लगाउन सकिन्छ । तत्कालिन समयमा एशियन सोसलिष्टहरुको सम्मेलन नेपालमा गरेर उहाँले गरिव राष्ट्रका लागि प्रजातान्त्रिक समाजबादी अबधारणा प्रस्तुत गर्नु भएको थियो । उहाँ जीवनको पछिल्लो समयमा सोसलिष्ट ईन्टरनेशनलको उपाध्यक्ष हुनुहुन्थ्यो । सिडनीको सम्मेलनमा उहाँबाट ब्यक्त बिचार सुनेपछि विश्वका प्रजातान्त्रिक समाजबादी नेताहरुले उहाँको प्रशंसा गरेका थिए ।
। नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको हैसियतले राष्ट्रिय योजना आयोगको बैठकमा देशको योजनाका लक्ष्यका बारेमा उहाँले भन्नुभयो, “ म अर्थशास्त्री होईन, तर मलाई के लाग्यो भने त्यो भित्तामा राजाको फोटो राख्नु भएको रहेछ, त्यो ठीकै हो, तर त्यो संगै एउटा झुप्रो अगाडि बसेको फाटेको टोपी र कछाड लगाएर हलो बोकेको किसानको तस्विर राख्नोस् । योजना बनाउने बेलामा सोच्नुहोस्, त्यो किसानको हीतमा योजना बनाउनुहोस् ।” यो भावनात्मक कुरा मात्र होईन, उहाले प्रमाणित गरेर देखाउनु भयो ।
२०१५ सालको नेपालको प्रथम आमनिर्बाचनमा दुई तिहाई बहुमतले नेपाली कांग्रेसले बिजय हासिल गरेपछि वी.पी कोईराला नेपालको प्रधानमन्त्री हुनु्भयो । त्यस बखतको १७ महिनाको सरकारले विर्ताप्रथाको उन्मुलन, मुद्रा प्रचलनमा सुधार, बनको राष्ट्रियकरण, राजरजौटा उन्मुलन बिधेयक, औद्योगिक बिकास,त्रिभुबन बिश्वबिद्यालयको स्थापना, बिद्यालय र प्राबिधिक शिक्षालयहरुको ब्यबस्था, सिचाई र बिद्युत, कृषि, भुमिसुधार र सहकारी, स्थानिय बिकास कार्र्यक्रमहरु, प्रशासनिक सुधार, बिकास निर्माणमा अन्तर्राष्ट्रिय र स्थानिय श्रोतको परिचालन, ईत्यादि उल्लेखनिय कार्य गरेका थिए । सरकारको खर्च घटाउन प्रधानमन्त्रीको २५०० बाट १५०० र मन्त्रीहरुको १५०० बाट १००० मासिक पारिश्रमिक तोकिएको थियो ।
तटस्थ परराष्ट्रनीतिको अवलम्वन गर्दै चीनका तत्कालिन अध्यक्ष माओत्से तुंगसंग सगरमाथा बारे बिबाद हुदा र नेहरुसंग सीमाका बारेमा बिबाद पर्दा वी.पी कोईरालाको कुशल कुटनीतिक प्रयासबाट नेपालको भुभागलाई अखण्ड राखेका थिए । नेपालबारे आपत्तिजनक अभिब्यक्ति दिदा नेहरुलाई भारतिय संसदमा माफी माग्न लगाएका थिए । त्यसैले वी.पी अहिले प्रचलित नेताहरु जस्ता मुखका मात्र राष्टबादी थिएनन्, कर्म र आत्माका राष्ट्रबादी थिए, कुर्सीका लागि देश साट्न चाहने अहिलेका नेताहरु देख्दा नेपालीहरुलाई घिन लाग्नु स्वाभाबिकै हो , किनभने नेपालमा वी.पी जस्ता राजनेता पनि नेपालीले देखेका थिए ।
यस्ता राजनेताको राष्ट्रिय र अन्तर्राष्ट्रिय छविबाट तिल्मिलाएका तानशाह महेन्द्र, उग्रबामपन्थी, र पार्टी भित्रका प्रतिक्रियाबादीहरुको मिलेमतोमा सैनिकका बलमा प्रथम जननिर्वाचित नेपाली कांग्रेसको सरकारलाई २०१७ साल पुस १ गते अपदस्त गरियो । वी.पी लगायत सम्पुर्ण नेता कार्यकर्ताहरुलाई सर्बस्व हरण सहित कसैलाई जन्मकैद, र ६ बर्ष भन्दा बढीको जेलसजायहरु सुनाइए ।
२०१८ सालमा सुवर्ण शम्शेरको नेतृत्वमा नेपाली कांग्रेसले शसस्त्र बिद्रोहको घोषणा गर्यो । २०१८ सालमा राजा महेन्द्रलाई बम हान्ने वीर योद्धा दुर्गानन्द झा, लगायत धेरै नेपाली कांग्रेसका योद्धाहरु सहिद भए । ८ बर्ष पछि २०२५ सालमा अन्तर्राष्ट्रिय दवावमा महेन्द्रले वी.पीलाई नछोडि सुख पाएनन् । किनभने उनले मानव अधिकारको गम्भिर उल्लंघन गरेका थिए । वी.पीको रिहाई पछि उहाँ भारत स्वनिर्बासनमा जानु्भयो र अनैतिक तानाशाह बिरुद्ध सशस्त्र क्रान्तिको तयारी गर्नुभयो ।
२०३१ सालको बिद्रोहमा होनाहार ३४ योद्धाहरु सहिद भए । त्यस बिचमा पन्चायतका मतियारहरुले तेजबहादुर अमात्य, योगेन्द्रमान सेरचन, दिवानसिंह राई, सरोज कोईराला जस्ता होनाहार नेताहरुको हत्या गरिसकेका थिए ।
दक्षिण पुर्व एशियाको बिग्रदो राजनीतिक परिस्थितिको बिश्लेषण गर्नु हुदै देशको राष्ट्रियता खतरामा परेको महसुस गरेर राष्ट्रि«य एकता र मेलमिलापको नारा सहित २०३३ साल पुष १६ गते स्वदेश फर्कनुभयो । त्यसबखत उहाका बिरुद्ध ७ बटा मुद्दाहरु थिए, यदि कुनैमा पनि हार भएको भए उहालाई फासीको सजाय हुनेथियो, तर उहाले देशका खातिर फासीलाई हाँसी हाँसी स्विकार्नु भयो । उहालाई नजर बन्दमा राखियो । उहाले राष्ट्रियताका लागि राजासंग सहकार्य गर्न तयार रहेको तर प्रजातन्त्र खोसेर लिने उद्घोष गर्नु भयो । अदालतमा आफैले बयान दिनुभयो । जनताका योद्धा वी.पीले सबै मुद्दा जित्नुभयो र तानाशाहहरुले उहाँलाई रिहा गर्न कर लाग्यो ।
२०३५ साल माघ २५ गते राती ११ बजे २०३१ सालका सशस्त्र क्रान्तिका कमाण्डर यज्ञबहादुर थापा र राजा वीरेन्द्रलाई बम हान्ने काण्डमा परेका भीमनारायण श्रेष्ठलाई तानाशाहहरुले गोली हानी हत्या गरेपछि बिद्यार्थी आन्दोलनको सुरुवात भयो । फलस्वरुप राजालाई २०३६ सालमा जनमत संग्रह गराउन कर लाग्यो । जनमत संग्रहमा बहुदलपक्षलाई धाँधली गरि हराए । तर वी.पी कोईरालाले प्रजातान्त्रिक उच्च चरित्रका साथ स्विकार्नु भयो । यो नै पन्चायतको अन्त्यको दिन गन्ति थियो ।
वी.पी कोईराला लगायत नेपाली कांग्रेसका नेताहरुले देशका कुना कुनामा पुगेर संगठन गर्ने मौकालाई सदुपयोग गर्नु भयो । देशमा प्रजातान्त्रिक जागरणको उभार आयो । तर वी.पीको स्वास्थ्य कमजोर हुदै गयो । अन्ततः २०३९ साल श्राबण ६ गते उहाँको भौतिक शरिरले बिश्राम लियो । तर उहाका शास्वत सत्य आदर्श, बिचार र जीवन दर्शनले नेपाल र नेपाली रहेसम्म नेपाली धरतीमा ज्वालाका रुपमा प्रकाश दिई रहनेछ र फक्रदो बल्दो दियोहरुलाई प्रज्वलित गरिरहने छ। ती महामानव, पुण्य अमर आत्मा प्रति हार्दिक श्रद्धान्जली ।
मन्थली,रामेछाप ।