Trending

स्मृतिमा फर्किने बाल्यकालको दसैँ

दसैँ केवल चाड–पर्व मात्र होइन, यो नेपाली समाजको सामूहिक आत्मा हो । प्रत्येक पुस्ता यसलाई आफ्नै शैलीमा मनाउँने गर्छ, तर यसको मौलिकता भने उस्तै रहन्छ—परिवारलाई एकै स्थानमा ल्याउने, समाजलाई एकै धागोमा गाँस्ने र जीवनलाई सामूहिक उत्सवको धुनमा डुबाउने । हामी बच्चा हुँदा देखेको दशैँलाई सम्झिँदा हृदयमा एउटा मिठो मिठास घुल्छ, जसलाई शब्दमा बाँध्न पनि कठिन हुन्छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलसँग गरिएको लामो संवादले त्यो पुरानो दशैँलाई अझै जीवन्त बनाइदिन्छ ।
ढुङ्गेल स्मृतिको ढोकामा टक्क अडिन्छन्—“दशैँ आउँदैछ भन्ने खबर गाउँभरि फैलिँदा नै वातावरण बदलिन्थ्यो । धानबाली पाकेको बास्ना मिसिएको हावासँगै मनमा दशैँको सुवास आउँथ्यो । खेतबारीमा काटिएको मकै, भित्राइएको धान र भुइँमा थुपारिएका कोदोका नलले गाउँलाई उत्सवको रंग भर्दै लग्थे।” त्यो समय दशैँ तयारीको महोत्सव नै हुन्थ्यो— घरमा कमेरो छ्याप्ने, रेडियो बजाएर सकिएको ब्याट्टीको कालोले दलानका काठ रङ्गरोगन गर्ने, गोठ सफा गर्ने, पुराना भाँडाकुँडा चम्काउने । आँगनमा झिलमिलाउने नयाँ माटो र गोबरको लेपले नयाँ जीवन सुरु भएको अनुभूति दिन्थ्यो ।
हामी बच्चा हुँदा बजार भन्ने कुरा हप्तामा एक दिन लाग्ने हाटमै सीमित हुन्थ्यो । त्यहाँ पुग्दा स–साना चीज पनि ठूलो लाग्थे—चिनी, नुन, तेल, सिन्दूर र धागो । ती वस्तु ल्याउन टाढा–टाढाबाट पैदलै आउने बा आमाको मुस्कान नै हाम्रो लागि दशैँको उपहार थियो । ढुङ्गेल सम्झिन्छन्—“नयाँ कपडा भनेको गाउँकै दर्जीले सिउने । दर्जी दाइहरू दशैँ अघिका हप्ताभरि दिनरात नापजाँचमा व्यस्त हुन्थे। कपडा सिउँदा ढाकिएको त्यो मेशिनको ‘ट्याक–ट्याक’ आवाज नै दशैँ आउँदैछ भन्ने संकेत थियो ।”
हाम्रो लागि दशैँको प्राण भनेकै पिङ थियो । बाँस र बाबियो जुटाएर युवाहरूले गाउँको बीचमा पिङ हाल्थे। त्यहाँ बिहानैदेखि बेलुकासम्म भीड लाग्थ्यो। हाम्रा बाल्य–मनमा पिङको चक्करमा उड्दा देखिने नीलो आकाश र खेतबारीको दृश्य आज पनि ताजा छन्। “पिङ खेल्न सकिएन भने दशैँ अधुरो लाग्थ्यो,” ढुङ्गेल भन्छन्, “अर्कोतर्फ पिङ हाल्ने कामले गाउँमा एकता ल्याउँथ्यो। सबैले आ–आफ्नो श्रम जोडेर बनाएको त्यो पिङ हाम्रो सामूहिकताको प्रतिमूर्ति थियो ।”
दशमीको बिहान आउँदा दशैँको असली रहस्य खुल्थयो । घरभरि पकाइएको मासुको बास्ना, भात र तरकारीको भाँडाभरि उम्लिएको सुगन्ध, अनि पूजा कोठामा राखिएको जमाराको हरियोपनले वातावरण नै पवित्र हुन्थ्यो । टिका थाप्ने क्षणले बालबालिकाको अनुहारमा अपार चमक ल्याउँथ्यो। ढुङ्गेल भन्छन्—“बुबा आमाले निदारमा टिका लगाईदिई कानमा जमरा राखेर आशीर्वाद दिनुहुन्थ्यो । त्यसपछि हातमा राखिदिएको एक रुपैयाँ वा दुई रुपैयाँ हाम्रो लागि संसारकै ठूलो धन थियो । त्यो पैसाले मिठाई वा बिस्कुट किन्ने सपना बाल्यकालको अपूर्व आनन्द थियो ।”
आजको तुलनामा त्यो समयको दशैँ धेरै साधारण देखिन्थ्यो । ब्रान्डेड सामान, चम्किला मोबाइल, फोटो खिच्ने प्रतिस्पर्धा थिएन । तर त्यस साधारणपनमै असाधारण खुशी लुकेको थियो । नयाँ जुत्ता वा सर्ट मात्र पाए पनि आत्मगौरवको चमक देखिन्थ्यो। गाउँभरि नयाँ कपडा देखाउन हिँड्ने बालबालिकाको अनुहारमा उभिएको त्यो गर्व आजको सम्पन्न बजारमा पाउन गाह्रो छ ।
दशैँले नजिक र टाढा रहेका आफन्तलाई एकै ठाउँमा ल्याउँथ्यो । शहरमा काम गर्ने, पढ्ने वा सेना–पुलिसमा भर्ना भएर बाहिर गएका परिवारजन दशैँकै बहानाले घर फर्किन्थे । त्यसैले दशैँले गाउँमा जनसम्पर्कको पुल बनाइदिएको थियो । ढुङ्गेल यसबारे भन्छन्—“फोन, इन्टरनेट थिएन । तर दशैँ आयो भने आफन्त आउँछन् भन्ने विश्वास हुन्थ्यो । त्यसैले टाढाको दूरीलाई कम गर्ने चाबी नै दशैँ थियो ।”
हामी बच्चा हुँदा दशैँमा रमाइलोको अर्को रंग मनोरन्जनका लागि खेलिने तास पनि थियो । अहिले कानुनले निषेध गरे पनि त्यतिबेला गाउँभरि ठट्टा र मनोरञ्जनकै रूपमा तास खेलिन्थ्यो । सानालाई भने सानो दाउमा खेल्न दिइन्थ्यो, जसले बाल्य मनलाई रोमाञ्चक बनाउँथ्यो। त्यो केवल पैसाको खेल थिएन, सामाजिक भेटघाट र रमाइलोको बहाना पनि थियो ।
तर दशैँ केवल उत्सव मात्र थिएन, यो संस्कार र शिक्षा दिने माध्यम पनि थियो । टिका थाप्दा ठुलाबडाको आशीर्वाद बालबालिकाको मनमा जीवनको बाटो कोर्ने लेखाजोखा हुन्थ्यो । “पढेर ठूलो मान्छे बन, राम्रो काम गर, देशको सेवा गर” भन्ने वाक्यांश बारम्बार कानमा गुञ्जिन्थ्यो । आज सम्झिँदा त्यो शब्दले दिएको नैतिकता नै हाम्रो जीवनको आधार बनेको अनुभव हुन्छ ।
ढुङ्गेल वर्तमान दशैँसँग तुलना गर्दै भन्छन्—“आज दशैँ व्यापारिक भएको छ । महँगा सामान किन्ने, फोटो सेयर गर्ने प्रतिस्पर्धाले आत्मीयता ओझेलमा पारिदिएको छ । गाउँमा अब सामूहिक पिङ पनि कम हुँदै गएका छन्। मानिसहरू आफ्नै परिवारमा सिमित हुन्छन्, छिमेकीसँगको त्यो आत्मीयता हराउँदै गएको छ ।” तर उनले जोड दिए—“यद्यपि स्वरूप बदलिएको भए पनि दशैँको आत्मा अझै त्यही छ—परिवारलाई जोड्ने, आत्मीयतालाई बाँध्ने ।”
हामी बच्चा हुँदा दशैँको त्यो बाल्य–अनुभव आज केवल स्मृति मात्र भए पनि त्यसले दिएको पाठ भने स्थायी छ। आत्मनिर्भर जीवनशैली, सामूहिक श्रम, सादगीमा सन्तोष, आशीर्वादमा शिक्षा—यी नै दशैँका मूल्य हुन् जसलाई हाम्रा पुस्ताले बोक्यो । ढुङ्गेल भन्छन्—“आज हामी समाजमा जिम्मेवारीमा छौं । त्यो समयमा सिकेको एकता र आत्मीयता नै हामीलाई मार्गदर्शन गर्छ।”
दशैँको त्यो सरल तर आत्मीय रूपलाई स्मरण गर्दा लाग्छ—हामी बच्चा हुँदा देखेको दशैँ केवल चाड–पर्व नभई नेपाली समाजको आत्मा थियो । आज स्वरूप बदलिएको छ, तर त्यो स्मृतिले अझै पनि हामीलाई भन्छ—“दशैँ त सामूहिकताको चाड हो, जहाँ परिवार, छरछिमेक र गाउँ सबै एकै रंगमा रङ्गिन्छन्।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button