सच्चाईको अधिवेशनले लियो २ जनाको ज्यान, चालकको अवस्था चिन्ताजनक

रामेछाप । धर्म, सत्य र मोक्षका ठूलो–ठूलो कुरा गर्नेहरूको कथा एकातिर छ, तर ठाडो प्रश्न अर्को छ । धर्मका नाममा गाउँका सोझासाझा बुढाबुढीलाई बटुलेर जोखिमपूर्ण यात्रामा पठाउनेहरूलाई आखिर जिम्मेवारीको कुनै अनुभूति छ कि छैन ? रजगाउँ माडी मुहानमा भएको पछिल्लो दुर्घटनाले एउटा कठोर उत्तर दिएको छ, धार्मिक अभियानले जति ठूलो आवाजमा सच्चाई प्रचार गर्छ, व्यवहारमा उनीहरूले देखाउने लापरवाही झन् ठूलो, झन् खतरनाक रहेछ।
खाँडादेवी गाउँपालिका–४ स्थित रजगाउँबाट सच्चाईको अधिवेशन सकेर फर्कँदै गरेको यात्रुवाहक सुमो दुर्घटनामा परी दुईजनाको मृत्यु भयो । “सत्य सुन्न जाँदैछु” भनेर हिडेकी ५३ वर्षीया गीतामाया जोगी घर फर्किनचाहिँ कहिल्यै पाइनन् । मन्थली नगरपालिका–२ की कोपिला श्रेष्ठ पनि त्यही अधिवेशनबाट फर्किँदै गर्दा दुर्घटनामा परि घाईते भईन् । उपचारका लागि काठमाडौँ जाँदै गर्दा बाटैमा ज्यान गुमाएको डाक्टरले सुनाए ।
उनीहरू ‘धर्म सुन्न’ गएका थिए, ‘मृत्यु’ सँग फर्किए । यसलाई विडम्बना भन्दा पनि ठूलो कटाक्ष शब्दमा अटाउनै मुस्किल छ। हेरौँ, यो कस्तो प्रकारको धार्मिक क्रियाकलाप हो जसले गाउँ–गाउँमा घुमेर “बुढाबुढीलाई सच्चाई सुन्नुपर्छ”, “जन्म–मरणको चक्र काट्नुपर्छ” भन्दै घर–घरबाट सोझासाझाहरू बटुल्छ, गाडीमा थुपार्छ, घण्टौँ हिँडाउँछ, तर ज्यान जोगाउने प्राथमिक जिम्मेवारी चाहिँ फुस्रै हुन्छ ?
धर्मले आत्मा बचाउँछ रे, तर यात्रुको शरीर, जीवन र सुरक्षा कसले जोगाउने ? अधिवेशनले ? आयोजकले ? कि सडकले नै चमत्कार गर्ने ? दुर्घटनामा घाइते भएकाहरू सबैजसो उमेरले कमजोर, रोगले ग्रस्त, जीवनकै अनुभवले थकित मानिसहरू। मन्थली नगरपालिका–२ की सन्चिता श्रेष्ठ, मन्थली–२ की ७० वर्षीया तिलमाया श्रेष्ठ, ५० वर्षीया कृष्णमाया खड्का, ५५ वर्षीया कोपिला जोगी, ७८ वर्षीया चेतकुमारी श्रेष्ठ — यी सबै त्यही धार्मिक आवेगका नाममा जोखिमपूर्ण यात्रामा धकेलिएका थिए।दुर्घटना पछि अस्पतालमा समेत केहीले भन्दै थिए ’हाम्रो ईश्वरले हामीलाई बचाउनुहुन्छ, हामीलाई केही हुँदैन’, तर एकजनाले मन्थली अस्पतालमै ज्यान गुमाईन् भने अर्की एकजनाले काठमाडौँ उपचारका लागि जाँदै गर्दा । सबैलाई प्राथमिक उपचारपछि काठमाडौँ रेफर गर्नुप¥यो ।
ना १ ज ५५५८ नम्बरको सुमो रजगाउँबाट मन्थली फर्कँदै गर्दा ५० मिटर तल खस्यो । प्रहरीले दिएको विवरणअनुसार शुक्रबार साँझ साढे ४ बजे दुर्घटना भयो । चालक रमेश बुढाथोकी पनि गम्भीर घाइते छन् ।
शनिवार उपचाररत टिचिङ अस्पतालबाट १ जना र ट्रमा बाट १ जना गरी दुई जना डिस्चार्ज भएर घर फर्किएका छन् । भने, ट्रमा सेन्टरमा उपचाररत २ जना, केएमसीमा १ जना र अन्न पूर्ण न्यूरोमा १ जनाको उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले रामेछाप टाइम्सलाई बताए ।
अहिले ४९ वर्षीय चालक रमेश बुढाथोकीको अवस्था केही चिन्ताजनक रहेको र बाँकी मध्यम अवस्थाका रहेको प्रहरीको भनाई छ ।
तर दुर्घटनाको तथ्यभन्दा ठूलो सत्य के हो भने—धर्मका नाममा सञ्चालित कार्यक्रमहरूको व्यवस्थापन सतहमा देखिँदैन । ठूलो मञ्च, ठूलो प्रवचन, ठूलो भीड—यी त सजिलो भाग हुन् ।
तर जोखिम व्यवस्थापन ? यात्रुको सुरक्षा ? क्षमता अनुसारको भीड नियन्त्रण ?
यी सबै कुरा धर्मका आयोजकहरूको शब्दकोशमै नपर्ने रहेछन्।
यस्तो कार्यक्रमहरूको वास्तविकता के छ भने, गाउँका अशिक्षित वा अलि बुढाबुढीहरूलाई “सत्य सुन्ने पुण्य” का नाममा भावनात्मक रूपमा आकर्षित गरिन्छ । उनीहरू घण्टौँ पैदल हिँडेर, भरिभराउ यात्रुहरूको भीडमा मिसिएर कार्यक्रमसम्म पुग्छन् । तर आयोजकले भने, “हामीले सत्य सिकायौँ” भन्दै हात झारिदिन्छन् ।
हिजोको दुर्घटनाले फेरि एकपटक सावित गरिदियो, धर्मको उपदेशले दुर्घटनाबाट जोगाउँदैन, व्यवस्थापनले जोगाउँछ। प्रवचनले जीवन बदल्न सक्छ भन्दैमा जीवन जोखिममा पार्न पाइँदैन।
मोक्षको नाममा बुढाबुढीलाई थुपारेर पठाउने तर उनीहरूको ज्यानको मूल्य नहेर्ने कस्तो धर्म हो यो ?
अहिले दुई परिवार शोकमा छन्, छ जना अस्पतालको ओछ्यानमा छट्पटाइरहेका छन् ।
धर्मकै नाममा भेला पारिएका जीवनहरू यत्तिको ठूलो जोखिममा परेपछि आयोजकहरूको जवाफदेहिता के हो ? अहिले ज्यान गुमाएको पीडा बुझ्ने पनि एउटै सत्य छ — जीवनभन्दा ठूलो धर्म केही पनि हुँदैन।
यस्तो दुर्घटनाले अब गाउँ–गाउँमा भइरहेका व्यवस्थापनविहीन धार्मिक अभियानहरूको कठोर समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ । मानिसको जीवन जोखिममा पार्दै “सत्य” सुनाउने धर्मले वास्तवमा कस्तो सत्य सिकाइरहेको छ ?
यदि धर्मले मानव जीवनलाई सुरक्षित राख्न सकेन, मानवताको संरक्षण गर्न सकेन भने त्यो धर्म नामको उराठलाग्दो बाहनाभन्दा केही होइन—यो दुर्घटना त्यसकै बोल्ने उदाहरण बनेको छ।



