गुराँसेमा रहेको सामुदायीक भवन – गाउँका सम्पूर्ण कार्यक्रम एकै ठाउँमा

रामेछाप । ग्रामीण जीवनशैलीमा सामाजिक र सांस्कृतिक कार्यक्रमहरू केवल औपचारिकता मात्र होइनन्, ती समुदायलाई एकआपसमा बाँध्ने बलिया सेतु पनि हुन्। यस्ता कार्यक्रम सहज, व्यवस्थित र सबैका लागि समान पहुँचमा हुनु आवश्यक हुन्छ। यही आवश्यकता बुझेर दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ५ गुराँसेले निर्माण गरेको सामुदायिक भवन गाउँकै सामाजिक केन्द्रको रूपमा स्थापित भएको छ। यहाँ अहिले गाउँभरि हुने बिहे, भोजभतेर, काजकिरिया, छेवर, पास्नि जस्ता जीवनचक्रसँग जोडिएका सम्पूर्ण कार्यक्रम एकै ठाउँबाट सञ्चालन हुँदै आएका छन्।
पहिले गाउँमा कुनै परिवारको घरमा कार्यक्रम पर्दा तयारीदेखि व्यवस्थापनसम्म धेरै झन्झट हुन्थ्यो। सानो घर, सीमित ठाउँ, खानेपानी र शौचालयको अभावले कार्यक्रम गर्न कठिनाइ आउँथ्यो। कतिपय अवस्थामा छिमेकीको घर, आँगन वा अस्थायी टेन्टको भर पर्नुपर्ने अवस्था थियो। यसले खर्च बढाउनुका साथै आयोजक र सहभागी दुवैलाई असहज बनाउँथ्यो। तर सामुदायिक भवन निर्माण भएपछि यी सबै समस्या क्रमशः समाधान भएका छन्।
वडा अध्यक्ष गङ्गा बहादुर तामाङ कमानका अनुसार यो भवन अघिल्लो र दोस्रो कार्यकालको अन्तरालमा वडाको बजेटबाट करिब ३६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो। “गाउँमा सबैले समान रूपमा प्रयोग गर्न सक्ने साझा संरचनाको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो,” अध्यक्ष तामाङ भन्छन्, “वडाको सीमित स्रोत भए पनि प्राथमिकताका आधारमा सामुदायिक भवन निर्माणलाई अगाडि बढायौं।”
उनका अनुसार यो भवन कुनै एक समूह वा समुदायका लागि मात्र नभई सम्पूर्ण गाउँवासीका लागि हो। कार्यक्रमको प्रकृतिअनुसार सबैले पालैपालो प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। यसले सामाजिक समानता र आपसी सहकार्यलाई पनि बलियो बनाएको अध्यक्ष तामाङको भनाइ छ।
स्थानीयवासी ज्ञान थापामगर सामुदायिक भवन बनेपछि गाउँको सामाजिक जीवनमै सकारात्मक परिवर्तन आएको बताउँछन्। उनी भन्छन्, “अहिले गाउँलेहरू सबै जम्मा भएर रमाइलोका साथ व्यक्तिको घरमा हुने हरेक कार्यक्रम यही भवनबाट गर्छौं। घरघरमा कार्यक्रम गर्दा हुने झन्झट अब छैन।” उनका अनुसार सामुदायिक भवनले खर्च घटाएको छ भने कार्यक्रमलाई मर्यादित र व्यवस्थित पनि बनाएको छ।
भवनमा विद्युत्, खानेपानी र शौचालयको पूर्ण व्यवस्था गरिएको छ। यसले कार्यक्रमका क्रममा आधारभूत सुविधाको अभाव महसुस हुन दिँदैन। विशेषगरी काजकिरिया जस्ता संवेदनशील कार्यक्रमदेखि विवाह र भोजभतेरजस्ता उत्सवसम्म एउटै स्थानमा व्यवस्थित रूपमा गर्न सकिनु गाउँवासीका लागि ठूलो उपलब्धि बनेको छ। महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि समेत यो भवन सुरक्षित र सहज भएको स्थानीय बताउँछन्।
सामुदायिक भवन केवल कार्यक्रम गर्ने ठाउँ मात्र नभई गाउँलेहरू भेटघाट गर्ने, छलफल गर्ने र आपसी सम्बन्ध मजबुत बनाउने थलो पनि बनेको छ। कुनै परिवारमा खुसीको क्षण होस् वा दुःखको, सबै एउटै छानामुनि भेला भएर साट्न पाउँदा सामाजिक एकता अझ बलियो भएको छ। यसले गाउँमा आपसी सहयोग र सहअस्तित्वको भावना बढाएको छ।
ग्रामीण क्षेत्रमा यस्ता सामुदायिक संरचनाले विकासको अर्थ केवल सडक र पुल मात्र होइन, सामाजिक पूर्वाधार पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ। सीमित बजेट हुँदाहुँदै पनि सही योजना र इच्छाशक्ति भएमा स्थानीय तहबाट जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने काम सम्भव हुन्छ भन्ने उदाहरण गुराँसेको सामुदायिक भवन बनेको छ।
गुराँसेका बासिन्दा यो भवनलाई आफ्नो साझा सम्पत्ति ठान्छन्। यसको संरक्षण र सदुपयोग गर्ने जिम्मेवारी पनि सबैले मिलेर लिएका छन्। गाउँको सामाजिक, सांस्कृतिक र मानवीय सम्बन्धलाई एउटै केन्द्रबाट जोड्न सफल यो सामुदायिक भवन ग्रामीण विकासको सानो तर प्रभावकारी मोडेलका रूपमा उभिएको छ।



