Trending

भड्किलो ‘भोज’ भन्दा खेतबारीको ‘भेट’ प्यारो

रामेछाप । यतिबेला रामेछापको पहाडी बस्तीहरूमा उम्मेदवारहरुले एउटा भिन्नै खालको सन्देश बोकेर हिँडेका छन् । फागुनको महिना, न त धेरै जाडो, न त निकै गर्मी। तर, राजनीतिक पारो भने बिस्तारै उकालो लाग्दैछ। आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अब केवल २४ दिन बाँकी रहँदा जिल्लाका भित्री गल्लीदेखि बजारका चौतारीसम्म चुनावी चर्चाले ठाउँ पाएको छ।
यद्यपि, यसपटकको रामेछापको चुनावी दृश्य भने अघिल्ला निर्वाचनहरूको तुलनामा अलिक भिन्न र शान्त छ। न त सडकमा झण्डावाल गाडीहरूको कर्कश हर्नको लस्कर छ, न त टोल–टोलमा ठूला स्पिकरबाट घन्किने चुनावी गीतहरू। जिल्लाका ९६ मतदान स्थल र २२८ मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षा निकाय तयारीमा जुटिरहँदा, उम्मेदवारहरू भने ‘लो–प्रोफाइल’ शैलीमा मतदाताको घरदैलोमा पुगिरहेका छन्।
कुनै समय थियो, चुनाव भन्नेबित्तिकै जिल्ला सदरमुकाम मन्थलीदेखि खाँडादेवी र उमाकुण्डका लेकसम्म राँगा–खसी काटिने, भोजभतेर चल्ने र हेलिकप्टरबाट फूलको वर्षा गराइन्थ्यो। तर, २०८२ को यो निर्वाचनले एउटा नयाँ संस्कारको संकेत गरेको छ।
ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रदेखि नयाँ शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्म सबैको प्रचार शैली यसपटक ‘माइक्रो–लेभल’ मा केन्द्रित छ। ठूला मञ्च बनाएर भाषण छाँट्नुभन्दा मतदाताको खेतबारीमै पुगेर कोदालो सघाउँदै वा आलीमा बसेर सुख–दुःख साट्दै भोट माग्नु अहिलेका उम्मेदवारहरूको साझा रणनीति बनेको छ।
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र खड्का भन्छन्, “निर्वाचनका नाममा नेपाली काँग्रेस गाडीमा मान्छे बोकेर, राँगा–भैँसी–खसी काटेर भोज गर्ने र मान्छे जम्मा गरेर भाषण सुनाउने कार्यक्रम गर्दैन। साना बैठक र घरदैलोमार्फत मतदाताको मन जितेर चुनाव जित्ने विश्वास छ।” खड्काको यो कथनले निर्वाचनमा बढ्दो खर्चिलो प्रवृत्तिको अन्त्य र मतदातासँगको भावनात्मक सम्बन्धको खाँचोलाई औँल्याएको छ।
यस्तै मत एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको पनि छ। उनी भन्छन्, “निर्वाचन आयोगको आचारसंहिताको पूर्ण पालना गरेर हामी कार्यक्रम सञ्चालन गरिरहेका छौँ। अहिले हाम्रो उम्मेदवार माधवप्रसाद ढुङ्गेल मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने, उनीहरूको गुनासो सुन्ने, सुझाव लिने र आफ्नो एजेन्डा सुनाउन व्यस्त हुनुहुन्छ।”
रामेछापको एउटै मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि यसपटक १७ जनाको उम्मेदवारी परेको छ। यो संख्या आफैँमा रोचक छ। राजनीतिक दलका १४ जना र ३ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन्। मैदानमा पुराना हस्तीदेखि नयाँ पुस्ताको समेत भिड छ। एमालेका माधवप्रसाद ढुङ्गेल र कांग्रेसका रामचन्द्र खड्काका लागि यो साख जोगाउने लडाइँ हो भने रास्वपाका डा. कृष्णहरि बुढाथोकीका लागि स्थापित दलहरूलाई चुनौती दिने अवसर। त्यस्तै, नेकपाका श्यामकुमार श्रेष्ठ र माओवादी केन्द्रका यमुनबहादुर बस्नेत पनि आ–आफ्नै संगठनको विरासत फर्काउने दाउमा छन्।
३ जना स्वतन्त्र उम्मेदवारहरू— अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरेले पनि दलहरूको विकल्प खोज्ने मतदाताको मनोविज्ञानलाई तान्न खोजिरहेका छन्। राप्रपाका गोरे तामाङ, राष्ट्रिय जनमोर्चाका अर्जुनबहादुर थापा मगर र श्रम संस्कृति पार्टीका ढालबहादुर खपाङ्गी मगर जस्ता उम्मेदवारहरूले सामाजिक न्याय र स्थानीय पहिचानका मुद्दालाई जोडतोडका साथ उठाएका छन्।
जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार यस निर्वाचनमा जिल्लामा १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन्। निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार जिल्लामा ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ। भौगोलिक विकटताका बाबजुद पनि मतदातालाई सहज रूपमा मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउन कर्मचारी र सुरक्षाकर्मीको टोली यतिबेला जिल्लाका कुना–कन्दरामा खटिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिताको पालनामा कडाइ गरेको छ। निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन स्थानीय प्रशासनले कडा सुरक्षा रणनीति अपनाएको छ।
रामेछापका गाउँहरूमा अहिले विकासको तीव्र चाहना छ। मन्थली–खुर्कोट सडकको स्तरोन्नति, तामाकोशी किनारका खेतहरूमा सिँचाइको उचित व्यवस्था, र सबैभन्दा महत्त्वपूर्ण— वैदेशिक रोजगारीका कारण युवाविहीन बनेका गाउँहरूमा स्वरोजगारका अवसर सिर्जना गर्नु अहिलेको मुख्य चुनौती हो।
उम्मेदवारहरूले काठमाडौँमा रहेका रामेछापेली मतदाताहरूसँग पनि निरन्तर संवाद गरिरहेका छन्। उनीहरूले काठमाडौँका विभिन्न ठाउँमा भेटघाट गर्दै आफ्ना धारणा राखेका छन्। गाउँमै बसेर काम गर्ने वातावरण कसले बनाउँछ भन्नेमा काठमाडौँका शिक्षित युवा र गाउँका वृद्धवृद्धा दुवैको उत्तिकै चासो छ।
रामेछापका मतदाताहरू यसपटक निकै ‘मौन’ देखिएका छन्। उनीहरू उम्मेदवारका कुरा ध्यानपूर्वक सुन्छन्, तर आफ्नो झुकाव प्रकट गर्दैनन् । यो मौनता कुनै अन्योल होइन, बरु सचेत निर्णयको संकेत हो । भोजभतेर र तडकभडकले चुनाव जितिने दिन अब इतिहास भइसकेको आभास जिल्लाको चुनावी माहोलले दिइरहेको छ।
फागुन २१ गतेको बिहीबार रामेछापका लागि केवल एउटा मिति मात्र होइन, यो आगामी ५ वर्षको मार्गचित्र कोर्ने दिन पनि हो। जसले मतदाताको मर्म बुझेर खेतबारीको आलीमा बसेर आफ्ना कुरा बुझाउन सक्यो, उसैको पोल्टामा रामेछापको बागडोर पुग्ने निश्चित छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button