तामाकोशीको छालमा विलाए १२ सपना

रामेछाप । मङ्गलबार बिहान करिब ११ बजे । रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर । तल तामाकोशी नदी आफ्नै लयमा सुसाउँदै बगिरहेको थियो । सडकमा एउटा नीलो र सेतो रङको बस (प्रदेश ०३–०१–००५ ख ९९७५) तीव्र गतिमा गुडिरहेको थियो । काठमाडौँबाट ओखलढुङ्गातर्फ मोडिएको त्यो बसमा २० जना यात्रु थिए ।
तर, भलुवाजोरको त्यो एउटा अभागी मोडमा पुगेपछि बसको चक्काले सडक छोड्यो । एकैछिनमा चिच्याहट सुनियो, र लगत्तै एउटा ठूलो आवाजका साथ बस सिधै तामाकोशीको चिसो र गहिरो पानीमा बजारियो । केही सेकेन्डमै सपनाहरू पानीको छालमा मिसिए, हाँसोहरू चित्कारमा बदलिए र २० जना यात्रुको भाग्य तामाकोशीको पानीमुनि हरायो ।
दुर्घटनास्थलमा पुग्दा दृश्य निकै विभत्स थियो । बसको आधा भाग पानीमा डुबेको थियो । नदीको बीचमा अड्किएको बसभित्रबाट मानिसहरू बचाउन गुहार मागिरहेका थिए । स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरू ज्यानको बाजी थापेर नदीमा पसे । प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार, ९ जनाको शव बसको सिटभित्रै च्यापिएको र पानीमा डुबेको अवस्थामा निकालियो ।
“हामीले पुग्दा पानीभित्र हातहरू हल्लिरहेका देखेका थियौँ, तर नदीको बहाव र बसको अवस्थाले गर्दा तुरुन्तै सबैलाई बाहिर निकाल्न सकिएन,” उद्धारमा खटिएका एक सुरक्षाकर्मीले मलिन स्वरमा भने । १२ जनाको ज्यान गएको यस घटनामा कोही आमाले आफ्नो काखको सन्तान गुमाएका छन् भने कोही सन्तानले आफ्नो सहारा ।
यस दुर्घटनाको सबैभन्दा ठूलो चोट लिखुतामाकोसी गाउँपालिकालाई परेको छ । बिजुलीकोटकी २१ वर्षीया बबी तामाङको जीवन भर्खरै फुल्दै थियो, तर नियतिले उनलाई तामाकोशीको गहिराइमा पु¥यायो । सोही ठाउँका २७ वर्षीय दिवेश बस्नेत र २५ वर्षीय जितेन्द्र बस्नेत– दुई तन्नेरी साथीहरू, जसले भविष्यका कति धेरै योजना बुनेका थिए होलान्, उनीहरूको यात्रा पनि बीचमै टुङ्गियो ।
तिल्पुङ गाउँको अवस्था झन् हृदयविदारक छ । ३५ वर्षीया सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ र २४ वर्षीया रमिता तामाङ– सँगै घर फर्किँदै थिए । उनीहरूको शव सँगै मन्थली अस्पताल ल्याइँदा गाउँ नै शोकमा डुबेको छ । ३६ वर्षीय भीमबहादुर तामाङ र ४५ वर्षीया मोना कुमारी बरुवालको परिवारमा अब कहिल्यै नमेटिने घाउ लागेको छ ।
सिन्धुली गोलाञ्जरका ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाका ८६ वर्षीय वृद्ध मानबहादुर तामाङको कथा पनि उस्तै छ । जीवनको उत्तराद्र्धमा रहेका मानबहादुरले आफ्नो अन्तिम समय घरमै बिताउने इच्छा राखेका थिए होलान्, तर उनलाई तामाकोशीले बीच बाटोमै खोस्यो । यि सबै सँगै उमाकुण्ड ७ भुजीका विशाल सुनुवार पनि अस्ताए । १ जनाको पहिचान खुलेको छैन, तर उनका आफन्तसम्म पुग्दा यो खबरले कस्तो बज्रपात पार्ने हो, सोच्दा मात्रै पनि आङ जिरिङ्ग हुन्छ ।
मन्थली अस्पतालको हाता अहिले अस्पतालजस्तो छैन, एउटा ठूलो रुवाबासीको थलो बनेको छ । एकातिर शवहरूको पहिचान भइरहेको छ, अर्कोतिर घाइतेका आफन्तहरूको रुवाबासीले वातावरण भारी भएको छ । ७ जना गम्भीर घाइतेलाई सिन्धुलीको खुर्कोट हुँदै धुलिखेल अस्पताल रिफर गरिएको छ । उनीहरू बाँच्छन् कि बाँच्दैनन् भन्ने अन्योलले परिवारजनमा छटपटी बढाएको छ ।
चालकको चरम लापरबाही र तीव्र गति नै यो काल निम्त्याउने मुख्य कारण थियो भन्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । मोडमा तीव्र गतिको बसलाई नियन्त्रण गर्न नसक्नुको मूल्य १२ जना निर्दोष यात्रुले आफ्नो ज्यान दिएर चुकाउनु परेको छ । चालक अहिले प्रहरीको नियन्त्रणमा त छन्, तर उनले दिएको घाउ सायद कसैले भर्न सक्ने छैनन् ।
प्रहरी र स्थानीय अझै पनि नदीको बहावमा कोही हराइरहेका छन् कि भनेर खोजी गरिरहेका छन् । तर, नदीको सुसाहटले मानौँ भनिरहेको छ, अब ती सपनाहरू कहिल्यै फर्केर आउने छैनन् ।
ओखलढुङ्गा पुग्नुपर्ने बस बीचैमा रोकियो । धेरैका घरमा आज साँझको चुल्हो बलेन । कसैको बाबा आउने बाटो हेरेर बसेका छोराछोरी, कसैको छोरीको बाटो कुरेका वृद्ध बाआमा । उनीहरूको प्रतीक्षा अब कहिल्यै नसकिने प्रतीक्षामा परिणत भएको छ । सडक सुरक्षाका ठूला भाषणहरू र नियमका कुराहरूका बीच फेरि एकपटक एउटा सिंगो बस्ती शोकमग्न भएको छ ।
भोलि फेरि तामाकोशी त्यसरी नै बग्नेछ, गाडीहरू त्यसरी नै गुड्नेछन्, तर ती १२ जना यात्रुको कथा अब केवल समाचारका पाना र परिवारको सम्झनामा मात्र सीमित रहनेछ ।



